बागलुङ बाढीपहिरो: १६ जना अझै बेपत्ता
बागलुङ। यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ।

मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन्।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन्।

त्यसअघि साउन १० गते बागलुङ नगरपालिका-१ मा खसेको पहिराेले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन्।

महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरू नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ।

सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए।

सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए।

जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भएकाका परिवारलाई पनि मृतकका परिवार सरह राहत दिलाउन प्रक्रिया अगाडि बढाइएको बताए।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा बेपत्ताको खोजबिन र स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ।

सरकारले मृतक परिवारलाई दुई लाख रूपैयाँ राहत प्रदान गर्दै आएको छ।

यस्तै एउटै परिवारमा अन्य सदस्यको पनि मृत्यु भएमा थप एक लाख रूपैयाँका दरले राहत उपलब्ध हुने गरेको छ।

बेपत्ता भएका परिवारलाई पनि तत्कालका लागि राहतस्वरुप १५ हजार दिने गरिएको छ। यो वर्ष बाढीपहिरोका कारण ढोरपाटनसहित जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड, काठेखोला गाउँपालिकालगायत क्षेत्रमा जनधनको क्षति भएको छ।

भूजीखोलाको बाढीमा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्