विदेशमा अलपत्र परेका १२५९ जनालाई आज स्वदेश फर्काइयो, रोजगार गुमाई फर्कनेको सङ्ख्या साढे ८२ हजार नाघ्यो

काठमाडौं। कोरोना महमारीका कारण रोजगारी गुमाई विदेशम अलपत्र परेकामध्ये आज १ हजार २५९ जनालाई स्वदेश फर्काइएको छ। योसँगै २०७६ चैत ११ गतेयता स्वदेश फर्कने नेपालीको संख्या ८२ हजार ५५५ पुगेको छ।

सरकार र सम्बन्धित देशमा रहेको दूतावासको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज कतारको दोहाबाट दुई वटा उडानमा ४०५ जनालाई नेपाल ल्याइएको छ। आजै मलेसियाबाट दुईवटा उडानमा १५९ जना स्वदेश फर्केका छन्। मलेसियाबाट आएको उडानमा तीन जना नेपालीको शव समेत ल्याइएको थियो।

युनाइटेड अरब ईमिरेट्स (युएई)को दुबई र सारजाहबाट आज दुई छुट्टाछुट्टै उडानमा २७४ जनालाई काठमाडौं ल्याइएको थियो। यस्तै, आज सिंगापुरबाट १५१ जना, साउदी अरेबियाको रियादाबट २६० जना र बंगलादेशको ढाकाबाट १० जनालाई स्वदेश फर्काइएको थियो।

“उहाँहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ,” सीसीएमसीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “होल्डिङ सेन्टरहरूमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनहरूमा पठाउने तयार भइरहेको छ।”

रोजगार गुमाई सबैभन्दा बढी युएईबाट स्वदेश फर्केका छन्। युएईबाट हालसम्म २४ अहार १४३ नेपाल फर्किसकेका छन्। यस्तै कोरोना महामारीपछि साउदी अरबबाट १२ हजार ९५६, मलेसियाबाट ११ हजार ८१०, कतारबाट ११ हजार ७०० र कुवतेबाट ८ हजार ४७८ जनालाई उद्धार गरी स्वदेश फर्काइएको छ।

स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी बागमती प्रदेशका छन्।

सीसीएमसीको तथ्याङ्कअनुसार स्वदेश फर्केकामध्ये १८ हजार ३१० जना बागमती प्रदेशका छन्। फर्कनेमध्ये प्रदेश नं. १ का १४ हजार ७५३, प्रदेश नं. २ का १२ हजार १५३, गण्डकी प्रदेशका ९ हजार ८१, प्रदेश नं. ५ का ११ हजार ६९७, कर्णाली प्रदेशका १ हजार ५३७ र सुदुरपश्चिम प्रदेशका १ हजार ७५१ जना रहेका छन्। फर्केकाहरु मध्ये १२ हजार १४ जना कुन प्रदेशका छुट्टिएको छैन।

प्रतिक्रिया दिनुहोस्