मापदण्ड पूरा गरी विद्यालय सञ्चालनमा

सिरहा। स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका विभिन्न स्थानका सामुदायिक तथा निजी विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन्।

जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरु आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन्।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका विद्यालयहरु स्थानीय तहको निर्णयअनुसार नियमित सञ्चालनमा आएका छन्।

विद्यालयमै सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएअनुसार नगर क्षेत्रका विद्यालयहरु आजबाट सञ्चालनमा आएको मिर्चैया नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति श्यामकुमार यादवले जानकारी दिए।

करीब ६ महिनापछि विद्यालय सञ्चालनमा आएकाले विद्यार्थीको सङ्ख्या कम भएपनि दुई सिफ्टमा गरी नियमित पठनपाठन सञ्चालनमा ल्याइएको विद्यालयहरुले जनाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थावमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेको छ। विद्यार्थीले विद्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाएको र सामाजिक दूरी कायम गरेको हुनुपर्छ।

प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा पक्राउ

जिल्लामा निषेधाज्ञाका बेला भीडभाड गरी नाचगान गरेको र रोक्न खोज्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिका­४ बाट एक युवकलाई पक्राउ गरेको छ।

गाउँमा नाचगान गरिरहेका बेला प्रहरी चौकी झाझपट्टीबाट खटिएको टोलीले रोक्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा स्थानीय सञ्जीवकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी ल्याई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्