लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-२६ गोंगबु शिवमन्दिर नजिकबाट नियन्त्रित लागुऔषध २५ एम्पुल डाईजेपाम, २६ एम्पुल फेनारेगन र २६ एम्पुल नुर्फिन सहित तनहुँ खैरनीटार नगरपालिका-७ घर भएका ३२ वर्षीय मनोज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरुङले लागुऔषध बेचबिखनको लागि साथमा बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका–९ शान्ती बनबाटिका डेरा गरी चितवन भरतपुर महानगरपालिका–९ घर भएका २८ वर्षीय दिनेश गुरुङलाई करिब ८ सय ५५ ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले उनको कोठाबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

सप्तरीको बोदेबर्साईन नगरपालिका–९ स्थित सिमराहा बोर्डरबाट नियन्त्रित लागुऔषध २ सय ९६ पिस डाइलेक्स डिसी प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी देउरीबाट गस्तीमा खटिएको प्रहरीले खेतको आलीमा उक्त लागुऔषध फेला पारी बरामद गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गुम्राह चोकबाट करिब ५ किलो अवैध लागुऔषध अफिम जस्तो वस्तु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रोल्पा साबिक थवाङ गाबिस–५ बस्ने ४६ वर्षीय कर्म कुमार बुढा र उनकै श्रीमती ४६ वर्षीया राजकुमारी रोका रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनीहरुलाई जाँच गर्दा उक्त वस्तु फेला पारी पक्राउ गरेको हो।

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्