कोभिडका कारण मद्यपान र धुम्रपान गर्ने घट्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै मद्यपान तथा धुम्रपान गर्नेको संख्यामा कमी आएको एक अध्ययनले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले कोरोना महामारीपछि मद्यपान र धुम्रपान गर्नेको संख्यामा कमी आएको देखाएको हो।

परिषद्को अध्ययनले मद्यपान र धुम्रपान सेवन पनि कोभिड १९ पश्चात १० र १२ प्रतिशतले घटेको पाइएको हो। परिषद्ले कोरोना संक्रमणमुक्त भएका ५७२ जनामा विभिन्न किसिमको अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानका क्रममा ३५ प्रतिशत भन्दा बढी बिरामीमा निको भएको दुई देखि ३ हप्तासम्म पनि खोखी, थकान र श्वासफेर्न गाह्रो हुने लक्षण पाइएको छ।

कोभिड १९ संक्रमण मुक्त भएका व्यक्तिहरुको दैनिक कार्यात्मक गतिविधिहरू र सामाजिक आर्थिक अवस्थामा परेको असरबारे अध्ययन गरिएको थियो। सर्वेक्षण गरिएका कूल जनसंख्या मध्ये ९९ प्रतिशतले यात्रा गरेको पाइएको थियो।

देशभित्र ६९.१ प्रतिशत र २९.९ प्रतिशतले अन्तर्राष्ट्रिय भ्रमण गरेको पाइएको छ। कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरूको स्वास्थ्य स्थिति आंकलन गर्दा ८९.१ प्रतिशत व्यक्तिहरू सामान्य अवस्थामा रहेका थिए। भने १०.९ प्रतिशत व्यक्तिमा रूघाखोकी, चिसो महसुस हुने, सामान्य कार्य गर्दा पनि कमजोर महसुस हुने र गन्ध र स्वाद थाहा नपाउने समस्या देखिएको थियो।

कोभिड १९ को लक्षण भएका बिरामीहरूका साथै युवा तथा वयस्कहरूमा पनि लामो समयसम्म बिरामी बनाउन सक्ने पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।

अनुसन्धानमा संलग्न ५५२ जनामध्ये ७० जना दीर्घ रोग जस्तैः मधुमेह, मुटुरोग, दम, आदिबाट ग्रसित भएको पाइएको छ। शारीरिक स्थिति मूल्याङ्कन गर्दा ८० प्रतिशत भन्दा माथिका निको भएका व्यक्तिहरुले घरायसी, घरबाहिरको काम र आर्थिक आयआर्जनको काम सहजै रुपमा गरेको पाइएको छ भने ९.६ प्रतिशतले घरायसी, ९ प्रतिशतले घरबाहिरको काम र ११.१ प्रतिशतले आर्थिक आयआर्जनको काम गर्न अरुको सहायता लिएको पाइएको छ।

त्यस्तै मानसिक स्थिति मूल्याङ्कलन गर्दा १५.१ प्रतिशत सहभागीहरुमा कोभिड १९ को प्रकोपको बारेमा बारम्बार दिक्क लाग्ने र अनावश्यक विचारहरु आएको र ७.७ प्रतिशतमा आफु र अरु प्रति नकारात्मक विचारहरु आएको पाइएको छ। त्यसैगरी २१.४ प्रतिशतमा कामको चिन्ता, १९.२ प्रतिशतमा घरको चिन्ता, २९.६ प्रतिशतमा बेरोजगारीको कारणले आर्थिक चिन्ता भएको पाइएको छ।

कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको रिपोर्ट निगेटिभ नभए सम्म आफूलाई अलग राखेको कारण मासिक आम्दानीलाई असर पुर्‍याएको पाइएको छ। सहभागीहरुले कोभिड १९ को डरका कारण आफन्तहरुबाट कुनैपनि स्नेह र प्रेमको अनुभव नपाएको गुनासो गरेका थिए। सामाजिक स्वास्थ्य स्थितिबारे मूल्याङ्कन गर्दा ४८.३ प्रतिशत निको भएका व्यक्तिहरुले सामाजिक भेदभावको महसुस गरेका छन्।

सामाजिक दुर्व्यवहारको कारणले गर्दा उनीहरुमा मानसिक चिन्ता बढेको पाइएको छ। थोरै सहभागीहरुले रिपोर्ट गरे अनुरुप तनावको प्रमुख कारकहरुमध्ये अविश्वसनीय समाचार श्रोतहरु र फेसबुक लगायतका सामाजिक सञ्जालहरुले उनीहरुलाई पोजिटिभ रिपोर्ट भन्दा बढी चिन्तित बनाएको पाइयो।

कोभिड १९ को वस्तुस्थिति तथा हालसम्मको तथ्याङ्क विश्लेषण सम्बन्धमा अध्ययन गरि आगामी दिनमा लिइने नीति रणनीतिका लागि सहयोग पुर्‍याउने उद्देश्य अनुसार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार अध्ययन गरिएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्