साथीको हत्या गर्ने मनकुमार दु:खी!

काठमाडौं। प्रहरी हिरासतमा मनकुमार लिम्बूको बसाई तीन साता भएको छ। २९ वर्षीय साथी गोमन सिंह मगरको हत्या आरोपपछि उनी त्यहाँ पुगेका हुन्।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–८ मा उनको घर छ। हिरासतमा रहेका ३२ वर्षीय मनकुमारले हत्या गरेको स्वीकारेपछि आफूबाट भएको अपराधिक कर्मलाई भाग्यको दोष भनेका छन्।

“खै, दिमागमा के आयो आयो, हत्या गरिहालेँ, मेरो भाग्य यस्तै रहेछ, अहिले भोग्नुपर्‍यो।” आरोपित मनकुमारको भनाइ उद्धृत गर्दै झापा प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताए।

प्रहरीले हत्या घटनाको अनुसन्धान गरेको तीन साता भएको छ। यसबीचमा हत्या हुनुको कारण आर्थिक कारोबार मात्रै खुलेको छ। कसले दिनु पर्ने र कसलाई लिनुपर्ने भने खुलिसकेको छैन। र, कति रकम भन्ने पनि खुलेको छैन।

हत्या आरोपित मनकुमारले मृतक गोमनसिंहले दिनुपर्ने बताउने गरेको एसपी कोइरालाले बताए। तर, गोमनसिंहको डायरीमा दाइ मनकुमारले पैसा दिनुपर्ने भनेर लेखेको पाइएको कोइराला बताउँछन्।

“भन्न चाहिँ मनकुमारले आफूलाई गोमनसिंहले पैसा दिनुपर्ने सुरुदेखि नै भनेका हुन्, तर, कति दिनुपर्ने उनले भनेका छैनन्”, एसपी कोइरालाले भने, “हामीले चाहिँ मनकुमार दाइले पैसा दिनुपर्ने भनेर गोमनसिंहले डायरीमा लेखेको भेटायौं, कति भन्ने छैन।”

मनकुमार र गोमनसिंहको आर्थिक कारोबारबारे प्रहरीले बहराइनमा रहँदा सँगै काम गरेका उनीहरूका साथीहरूसँग सोधपुछ गर्ने भएको छ। त्यसपछि मात्रै कसले को बाट कति चलाएका रहेछन् भन्ने कुरा थाहा हुने प्रहरीको ठम्याई छ।

यसका लागि प्रहरीले मनकुमार र मृतक गोमनसिंहको परिवारसँग समन्वय गर्ने भएको छ। आर्थिक कारण हो कि होइन त्यसपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ।

मृतक परिवारका अनुसार मनकुमार र गोमनसिंहको सम्बन्ध सानैदेखि नङमासुको झै थियो। वैदेशिक रोजगारीको सिलसिलामा सँगै बहराइन गएका थिए। बहराइनमा सँगै बसेका थिए। उनीहरू घर फर्किँदा पनि सँगै फर्किए। दुबै जना स्वदेश फर्किएको धेरै भएको थिएन।

भदौको १६ गते दिनभर उनीहरू सँगै थिए। सोही दिन साँझको करिब ६ बजे “अर्जेन्ट छ” भन्दै फोनमा मनकुमारले बोलाएपछि गोमन सिंह मोटरसाइकलमा गएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।

एसपी कोइरालाका अनुसार मनकुमार मोटरसाइकलको पछाडि बसेर ‘बेलुकाको हावा खान सताक्षीधाम मन्दिर जाँउ भन्दै गए। र, मनकुमारले विस्तारै मन्दिर जाने प्रस्ताव राखे।

सोही अनुसार गोमनसिंहले मोटरसाइकल चलाए। सोही मौकामा लुकाएर बोकेको कर्द निकालेर मनकुमारले गोमनसिंहको घाँटी रेटेर हत्या गरे।

घटनाको तीन दिनपछि मात्रै मनकुमार पक्राउ परेका हुन्। उनी विरुद्ध जिल्ला अदालत झापामा कर्तव्य ज्यान मुद्दा दर्ता छ। अदालतले उनलाई उक्त मुद्दामा दोषि ठह¥याएको अवस्थामा जन्मकैदसम्मको सजाय हुन सक्ने छ।

प्रतिक्रिया दिनुहोस्