लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागुऔषध सहित १४ जनालाई पक्राउ गरेको छ। उदयपुर र झापाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागुऔषध ६० एम्पुल फेनारगन, ६० एम्पुल डाईजोपाम र ६० एम्पुल लुपिजेसिक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सप्तरी कृष्णसबरन गाउँपालिका–१ बस्ने ३१ वर्षीय प्रबेश मिया र उनकै श्रीमती २६ वर्षीया हजारुम खातुन रहेका छन्।

लागुऔषध बिक्री गर्नको लागि भारतबाट उदयपुरतर्फ ल्याईरहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो।

त्रियुगा नगरपालिकाकै वडा नंं.२ बाट नियन्त्रित लागूऔषध ३५ एम्पुल फेनारगन, ३५ एम्पुल डाईजोपाम, ३५ एम्पुल लुपिजेसिक सहित सोही नगरपालिका–१२ बस्ने १९ वर्षीय रजामुदिन अन्सारी लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा लागूऔषध ल्याई किनबेच भईरहेको भन्ने खबर पाएपछि हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-४ नमुना चोकबाट नियन्त्रित लागूऔषध २१ ट्याब्लेट नाइट्राभेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चौदण्डीगढी नगरपालिका-६ लाफा चोक बस्ने २० वर्षीय जुजुहाङ राई, सोही नगरपालिका-७ साकेला चोक बस्ने १५ वर्षीय किशोर र सोही नगरपालिका लामे चौरी बस्ने १८ वर्षीय किशोर रहेका छन्।

प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कबाट ११ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–३ बस्ने २४ वर्षीय बिशाल राजबंशी र सोही ठाउँ बस्ने १५ वर्षीय किशोर रहेका छन्।

ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हा।

झापकै बिर्तामोड नगरपालिका-२ स्थित भगवान चोकबाट करिब १० ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रदिप राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्