“राजेन्द्रले सुन माग्दैछ, मलाई डर लाग्यो, मुन्द्रा फुकाली देउ बाज्या” भनेकी बालिका जब मृत फेला परिन्

काठमाडौं । “बाज्या ! राजेन्द्रले सुन माग्दैछ, मलाई डर लाग्यो, मुन्द्रा फुकाली देउ।” सम्झना कामीले साता दिन अगाडि बाजे गोरख कामीलाई भनिन्।

उनी १२ वर्षीया हुन्। बुबा विजुली कामी र आमा गीता कामी भारततिरै छन्। रोजगारीका लागि त्यता गएको ३/४ वर्ष भयो।

उनी पनि बझाङको मष्टा गाउँपालिका–२ मा रहेको बाज्या बोज्यू भएको घरमा आएको केही महीना अगाडि मात्रै हो। तैपनि बाज्या बोज्यूलाई काममा पूरै सहयोग गर्दै थिइन्। यस्तो अवस्थामा नातिनीको भनाइले गोरख कामी चकित भए।

र, सम्झाउँदै भने, “नडराउ, हामी छौं।” गोरखले सम्झनालाई भरोसा दिने प्रयत्न गरे।

सम्झना भारतदेखि आएपछि नै गोठमा जान्थिन्। गाईवस्तुलाई घाँस हालिदिने काम गर्थिन्। जुन गोठ घरदेखि आधा घण्टा पैदल दूरीमा पर्छ।

उनी बुधबार पनि गोठमा गइन्। बाजे गोरख चाहिँ धुलो पिस्न भन्दै घट्टतिर गए। गोरख साँझपख घरमा आइपुगे।

“घरमा आउँदा श्रीमती र दुई नातिनी मात्रै देखें तर, सम्झनालाई देखिनँ”, उनले देखापढीसँग भने, “साँझपख जहिले घर आइपुग्थिन, नआएपछि खोजीका लागि गोठतर्फ लागें र गाउँका मानिसहरू पनि खोजी गर्न लागे।”

खोजी गर्ने क्रममा सिमछानामा रहेको सिम मन्दिरमा सम्झना मृत फेला परिन्। फेला पर्दाको समय करिब साढे ८ बजेको थियो।

शरीरको तल्लो भाग नाङ्गो अवस्थामा भेटिएकी नातिनीको शरीरको विभिन्न भागमा निलडाम देखिएको बाजे गोरखले बताए।

बालिका मृत फेला परेपछि भने स्थानीयले प्रहरीलाई खबर गरे। मष्टा प्रहरी चौकीबाट प्रहरी टोली खटिए।

प्रहरी घटनास्थल पुग्दाको समय करिब १० बजेको थियो। शवको प्रकृति मुचुल्का तयार गरेर सदरमुकाम चैनपुरमा ल्याए। जुन शवको पोष्टमार्टम शुक्रबार बिहान गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने बताए।

“प्रारम्भिक अनुसन्धानको क्रममा बालिकाको शवमा निलडाम देखिएको छ र कानमा लगाएको भनिएको मुन्द्रा छैन”, उनले भने, “सुन लुटेपछि बलात्कार गरेर हत्या गरेको जस्तो देखिन्छ।”

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा सोही गाउँका करिब १८ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएको छ। जो बिहीबारदेखि सदरमुकाम चैनपुरको हिरासतमा छन्।

मृतक बालिकाले जीउँदो हुँदा मुन्द्रा माग्ने गरेको र आफूलाई डर लागेको भनिएका राजेन्द्र उनै राजेन्द्र बोहोरा भएको पीडित परिवारको ठाडो उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

“हामीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेका छौं”, प्रहरी निरीक्षक कार्कीले भने, “घटनामा संलग्न उम्किन्नँ, कानुनी दायरामा ल्याउँछौं।”

पीडित परिवारको तर्फबाट किटानी जाहेरीको तयारी भइरहेको बाजे गोरखले बताए।

प्रतिक्रिया दिनुहोस्