रौतहटका तत्कालीन एसपी खड्का र डीएसपी महतोलाई कारबाही गर्न गृहको सिफारिस
काठमाडौं। गृह मन्त्रालयले रौतहटका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) रवीराज खड्कालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई सिफारिस गरेको छ।
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा कुटपिटका कारण भएको चोटले विजय रामको मृत्यु भएको घटनामा एसपी खड्काको कमजोरी देखिएको भन्दै कारबाहीको लागि सिफारिस गरिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताए।
एसपी खड्कासँगै कारबाहीका लागि सिफारिसमा पर्नेमा इप्रका गरुडाकै तत्कालीन डीएसपी ज्ञानकुमार महतो समेत छन्। उनकै निर्देशनमा कुटपिट भएको देखिएको बताइएको छ।
विजयको भदौ ११ गते उपचारको क्रममा नेश्नल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालमा गरिएको शव परीक्षणको प्रारम्भिक प्रतिवेदनले पनि शरीरको विभिन्न स्थानमा देखिएको चोटका कारण दुबै मिर्गौलाले काम गर्न छाड्दा विजयको मृत्यु भएको देखाएको छ।
उनको भदौ १० गते दुबै मिर्गौलाको डायलाइसिस गरिएको थियो। तर, भोलिपल्ट उनको मृत्यु भएको हो।
मृतक परिवारले प्रहरीकै कुटपिटका कारण विजयको मृत्यु भएको भन्दै अझै पनि शव बुझ्न मानिरहेका छैनन्। उनीहरूले तत्कालीन जिल्ला प्रहरी प्रमुख खड्का, इप्रका गरुडाका डीएसपी महतोलाई पनि कारबाहीको माग गरेका छन्।
यससँगै क्षतिपूर्तीको माग पनि गर्दै आएका छन्।
यसैबीच कुटपिटमा संलग्न भनिएका गरुडाका प्रहरी निरीक्षक नविनकुमार सिंह, प्रहरी हवल्दार हिरोज मिया धुनियाँ र मुन्ना सिंह निलम्बनमा परेका छन्।
प्रतिक्रिया दिनुहोस्