रूकुम पश्चिमको सोती घटना: नवराज विकसहित ६ जनाको हत्या सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा राखियो

काठमाडौं। उच्च अदालत सुर्खेतले रूकुम पश्चिमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या घटनासँग सम्बन्धि मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेको छ।

सुनुवाईको लागि बिहीबार उक्त मुद्दा अदालतका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश सुदर्शनदेव भट्टको संयुक्त इजलासमा पेशी चढाइएको थियो।

तर, सुनुवाईको पालो नै नआएपछि अदालतले ‘हेर्न नभ्याइने’ मा राखेको हो। अब, फेरि उक्त मुद्दालाई पेशीमा चढाइने छ। गत भदौ २४ गते कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत मुद्दा उच्च अदालत सुर्खेतमा दायर भएको हो।

मुद्दाको वादी मुनलाल नेपालीसहित छन्। प्रतिवादी तुलबहादुर मल्लसहित २८ जना छन्। अदालतले भदौ २५ गते बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जना प्रतिवादीको सुरुआती सक्कल मिसिल मगाउन आदेश दिएको थियो।

गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ घर भएका २१ वर्षीय नवराज विकसहित उनका साथीहरू गणेश विक, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको क्रुरतापूर्वक ढंगले रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर–८ को सोती गाउँमा हत्या भएको थियो।

उनीहरूको शव भेरी नदीमा फेला परेको थियो। घटनामा केही घाइते भएका थिए। घटना प्रेमीका भगाउन भनेर जाँदा भएको हो। तर, प्रेमिकाकी आमाले ‘डुम’ भन्दै गालीगलौज गर्दा प्रेमिका नलिइ फर्किएका उनीहरूको बाटैमा अमानवीय ढङ्गले हत्या भएको हो।

घटनाको प्रतिवादी (प्रेमिका पक्ष)ले भने कोरोना संक्रमणको महामारी फैलिरहेको र लकडाउन भएको अवस्थामा ठूलो संख्यामा आएका केटाहरूलाई सोधपुछ गर्दागर्दै घटना भएको जिकिर गर्दै आएका छन्।

घटना सम्बन्धी संसदीय समिति, गृह मन्त्रालयद्वारा गठित समिति, राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको अनुसन्धान टोलीले अनुसन्धान गरेका छन्।

स्थलगत अनुसन्धानपछि यी निकायहरूले नवराज विकसहित ६ जनाको हत्या भएको निष्कर्ष निकालेको छ। घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्लसहितको संलग्नता देखिएको जनाएको छ।

घटनामा घाइते भएकाहरूले गाउँलेले लखेटी–लखेटी लाठी, हसिया र ढुंगा समेतले प्रहार गरी हत्या गरेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्