रामहरी श्रेष्ठकाे हत्या सम्बन्धी पुनरावलोकन मुद्दामा सर्वोच्चले निस्सा दिएन

काठमाडौं। महान्यायाधिवक्ताकाे कार्यालयले काेटेश्वरका व्यापारी रामहरी श्रेष्ठकाे हत्या सम्बन्धी मुद्दामा भएकाे फैसला विरूद्ध दायर गरेकाे पुनरावलोकन निवेदनकाे सुनुवाइका लागि सर्वाेच्चले निस्सा दिएकाे छैन।

कार्यालयले गत भदौ ३ गते नै पुनरावलोकन निवेदन सर्वोच्चमा दायर गरेकाे थियाे। तर, एक महिना बित्दा पनि सुनुवाइका लागि दायर पुनरावलोकन निवेदनले निस्सा पाउन नसकेको हाे।

निस्सा पाएकाे अवस्थामा अदालतका तीन जना न्यायाधीशबाट निवेदनमाथि सुनुवाइ हुनेछ। यदि, यसअघिकाे फैसला मिलेकाे छ भनिएकाे अवस्थामा निस्सा नपाउन सक्ने अवस्था रहन्छ।

महान्यायाधिवक्ताकाे कार्यालयले यस्तै प्रकृतिको मुद्दामा अदालतले यसअघि प्रतिपादन गरेकाे सिद्धान्त विपरीत श्रेष्ठकाे हत्या मुद्दाको फैसला भएकाे दाबी गरेको छ।

"गाेविन्दबहादुर बटाला र अर्जुन कार्कीकाे हकमा सर्वोच्च अदालतकाे संयुक्त इजलासबाट भएकाे फैसला चाहिँ यस्तै प्रकृतिको मुद्दामा यसअघि भएकाे सर्वाेच्च अदालतबाटै प्रतिपादित सिद्धान्त विपरीत भएकाे हुँदा फैसला मिलेन भन्ने हाम्राे जिकिर हाे," महान्यायाधिवक्ताकाे कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले देखापढीसँग बताए।

सर्वाेच्चका न्यायाधीशहरू टंकबहादुर माेक्तान र तेजबहादुर केसीकाे संयुक्त इजलासले गत फागुन १८ गते बटालालाई हत्या आराेपबाट सफाइ दिने फैसला गरेकाे थियाे। फैसलामा बटालाले कुटपिट गरेकाे भन्ने मिसिल संलग्न कुनै पनि प्रमाणबाट खुल्न नआएकाे उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्