दुई शिशु सहित पाँच जना मृत अवस्थामा फेला

काठमाडौं। देशका विभिन्न स्थानमा दुई शिशु सहित पाँच जना मृत अवस्थामा फेला परेका छन्। बाँके, महोत्तरी, सुनसरी, पाल्पा र सल्यानमा उनीहरु मृत फेला परेको प्रहरीले जनाएको छ।

बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवास्थित सडक छेउको नालामा सालनाल सहितको नवजात शिशु मंगलबार मृत अवस्थामा फेला परेका छन्।

महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित माछा पोखरीमा करिब ७ महिनाको नवजात शिशु मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका–६ छतिवन चोक बस्ने ३७ वर्षीय लक्ष्मण बस्नेत घरबाट करिब ५ सय मिटर टाढा बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

पाल्पाको रिप्दिकोट गाउँपालिका–२ धाराधि बस्ने ३२ वर्षीया पद्मा लाम्टाङ्गे घरबाट करिब ३ सय मिटर टाढा सर्दैवा–हार्थोक सडकखण्डमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।

सल्यानको बागचौर नगरपालिका–७ सानागाडाकोट बस्ने ६८ वर्षीय बिक्रम डाँगी सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। गाईको घिउ खोज्न गएका डाँगी मावली नाता पर्ने सोही नगरपालिका–४ स्थित घरको भान्सा कोठामा सुतेकोमा बिहान मृत अवस्थामा फेला परेका हुन्।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्