अवैध लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुर, कपिलवस्तु, सर्लाही, रोल्पा र धनुषाबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

मकवानपुरको मनहरी गाउँपालिका-६ लोथर खोलाको ड्याम साइटबाट करिब १०० केजी गाँजासहित तीनजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-४ बस्ने २७ वर्षीय मदन कोइराला, सोही गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल खाँड ठकुरी र ३० वर्षीय टलकबहादुर घलान छन्।

अवैध लागुऔषध गाँजा लिएर आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ६ वटा बोरामा ल्याउँदै गरेको अवस्थामा उक्त गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

कपिलवस्तुको यसोधरा गाउँपालिका-७ मर्यादपुरबाट २७ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने २५ वर्षीय लल्लु धुनिया र सोही ठाउँ बस्ने २० वर्षीय अजमरी धुनिया रहेका छन्।

प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको छ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ मोहनपुर टोलबाट २२५ ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्रोभेटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चक्रघट्टा गाउँपालिका–९ बस्ने २८ वर्षीय राजदेव यादव र १६ वर्षीय किशोर छन्।

प्रहरी चौकी मोहनपुरबाट खटिएको प्रहरीले ना.२९ प ७३१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

रोल्पाको थवाङ गाउँपालिका–२ स्थित छेरवाङबाट १२ पुरियामा रहेको करिब १० केजी अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ठुलोगाउँ बस्ने ४५ वर्षीया मुली झाँक्री र ३५ वर्षीया मुलज्योती रोका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनुषाको बिदेह नगरपालिका–१ मैनाथपुर गाँउस्थित बोर्डर नजिकबाट करिब ८ केजी गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ।

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्