सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं। कपिलवस्तु, सिरहा, धादिङ, दैलेख, सप्तरी र बझाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चौवन्नपुरमा लु १ च ५४४८ नम्बरको बोलेरोले लु १० प ५९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका डुमरा बस्ने ४५ वर्षीय रामधनी चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाको गोलबजार नगरपालिका-७ पुरानो चोहर्वामा ‘अनटेस्ट’ लेखिएको पिकअपले स.६ प ३९९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी छिन्नमस्ता गाउँपालिका-४ बस्ने ५५ वर्षीया ललितादेवी साहको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी साहको उपचारको लागि भूमिजा अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। दुवै सवारी साधन र पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङको थाक्रे गाउँपालिका-६ महादेवबेशी बजारमा ना.३ ख ५१८३ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ३ वर्षीया संचिता कार्कीको घटनास्थलमै मृत्यु भएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दैलेखको नौमुले गाउँपालिका-१ मालुभिरस्थित सडकमा ना.७ त १२१६ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खस्दा ट्याक्टरका चालक दुल्लु नगरपालिका-९ धामिगाउँ बस्ने २५ वर्षीय कविराज पुरीको घटनास्थलमै मृत्यु भएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका-८ देवधार चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल पहिचान नखुलेका करिब ५० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

बझाङको बुङगल नगरपालिका-१ तल्लोदह भन्ने स्थानमा लु.१ क १२७८ नम्बरको जेसिबी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा जेसिबीमा सवार सोही नगरपालिका भिरगडा बस्ने २८ वर्षीय मान बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्