अवरुद्ध बेँशीशहरचामे सडक सञ्चालन

काठमाडौैं। मङ्गलबार साँझबाट परेको अबिरल वर्षासँगै बुधबार बिहान आएको बाढीपहिराले अवरुद्ध बेँशीशहर­चामे सडक साँझ ८ बजेबाट पुन: सञ्चालनमा आएको छ।

पहिरोले अवरुद्ध लमजुङ र मनाङ जोड्ने बेँशीशहर­चामे सडक सडकखण्डको बेँशीशहर नगरपालिका­६ खरखरे भीरमा गएको पहिरो हटाएसँगै सडक पुन: सञ्चालनमा आएको डुम्रे­बेँसीशहर­चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ।

खरखरे भीरमा सडकमाथिबाट पहिरो आउनुका साथै करिब २० मिटर सडक भासिएर अवरुद्ध भएको थियो। करिब छ घण्टा लगाएर डोजरले पहिरो हटाएको उक्त कार्यालयका सव­इन्जिनियर सुमन अधिकारीले बताए।

सडक तल भासिएकाले उकास्न असम्भव भएपनि सडकको भित्तापट्टिको भाग खोतलेर सडक बनाएर सवारी सञ्चालनमा ल्याएको उनको भनाइ छ।

यतिबेला सडक खुले पनि फेरि पानी आएमा अवरुद्ध बनाउन सक्नेछ । अवरुद्ध यस सडक करीब १५ घण्टापछि खुलेको हो।

त्यस्तै यस सडकअन्तर्गत यस नगरपालिकै वडा नं. ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको थियो।

बाढीले सडकमा ढुङ्गाहरु थुपारेर अवरुद्ध बनाएपनि सो स्थानमा समेत डोजरले ढुङ्गाहरु हटाएपछि दुबै स्थानको अवरोध हटेपछि सहजरुपमा सकड सञ्चालन भइरहेको कार्यालयका सव­इन्जिनियर अधिकारीको भनाइ छ।

सडक अवरुद्ध हुँदा रोकिएका ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारीसाधनहरु सञ्चालनमा आएका छन्। ६५ किलोमिटरको यस सडकमा वर्षेनी वर्षायाममा सडकको विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने गर्नाले समस्या हुँदै आएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्