पहिराेले भासियो बेँसीशहर-चामे सडक

लमजुङ। हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर-चामे सडक पहिराेले भासिएको छ।

मंगलबार रातिदेखि अविरल वर्षासँगै आएको पहिराेले आज बिहान सो सडकखण्डको बेँसीशहर नगरपालिका-६, खरखरेभिरको सडक भासिएको हो।

करिब २० मिटर सडक भासिएको डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताए।

उनले भने, “सडकमाथिबाट आएको पहिरो र सडक तल मर्स्याङ्दी नदीले खोलेको जमिनका कारण सडक भासिँदा सडक अवरुद्ध भइरहेको छ।”

पानी निरन्तर परिरहेकाले तत्काल मर्मत गर्न असम्भव भएको उनको भनाइ छ।

सो स्थानमा लामो समयदेखि बर्सेनि हल्का वर्षा हुनासाथ ढुङ्गामाटो आएर सडक अवरुद्ध हुँदै आएको थियो।

सो सडकअन्तर्गत नगरपालिकै वडा नं ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको छ।

सडक अवरुद्ध हुँदा ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारीसाधन रोकिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्