छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं। महोत्तरी, सुर्खेत, सुनसरी, कैलाली र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।

महोत्तरीको गौशाला नगरपालिका–९, महरापुलस्थित सडकमा ना ८ ख ५३९५ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया मोकिमा खातुनको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ दैलेख र सुर्खेतको सिमानास्थित रातानाङ्लामा ना.४ ख ७७५५ नम्बरको ट्रक अनियन्त्रित भई सडकदेखि करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक चितवन खैरेनी नगरपालिका-१२ बस्ने ३५ वर्षीय ईश्वर बर्तौलाको घटनास्थलमै मृत्यु भएको छ।

सुनसरीको दुहबी नगरपालिका-३, फुटानीचोकस्थित कोशी राजमार्गमा ज.१ च १९३२ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री मोरङ सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने ४५ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलालीको गौरीगंगा नगरपालिका-६, कटौतीस्थित पूर्वपश्चिम राजमार्गमा ०१००८ प ६७३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया कमलादेवी रोकायाको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुलीको दुधौली नगरपालिका-७ सुगारेस्थित मदन भण्डारी राजमार्गमा लु.५८ प २६३८ अस्थायी नम्बरको मोटरसाइकल र एक साइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सुनसरी इटहरी घर भएका २६ वर्षीय यादव ढुङ्गानाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिराहाको फुलकुमारी अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका साइकलयात्री सिन्धुली दुधौली नगरपालिका-७ सुगारे बस्ने २३ वर्षीय रासलाल अधिकारीको कटारी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्