रेड पाण्डाको छालासहित ५ जना पक्राउ

बाँके। दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को छालासहित ५ जना बाँकेमा पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका-१ स्थित डेनियाल रेस्टुरेन्टबाट पाँच जना पक्राउ परेका हुन्।

उक्त रेस्टुरेन्टमा रेड पाण्डाको छाला किनबेच भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। जहाँ देवबहादुर बाठा (सुर्खेत), गणेश बि.क. (सुर्खेत), जयबहादुर बि.क. (सुर्खेत), ईन्द्रबहादुर नेपाली (जाजरकोट) र कृष्ण वली (जाजरकोट) पक्राउ परे।

र, उनीहरु बस्दै आएको कोठाबाट रेड पाण्डाको नङ्ग्रा, दाँतसहितको छाला १ थान बरामद भयो। बाँके प्रहरीका अनुसार इन्द्रबहादुरले जाजरकोटकै लोकेश सिंहबाट १ लाख रुपैयाँमा किनेर कृष्ण वलीलाई दिएका थिए।

कृष्णबाट गणेशसम्म पुगेको छाला ४० लाख रुपैयाँमा विक्री गर्ने भनेर सुर्खेतको छिन्चुबाट बाँकेमा पुर्‍याइएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) अनुसार यो कसूरमा १० लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्