प्रहरी हिरासतमा मृत्यु भएका युवकको शव आफन्तले बुझे

कैलाली। प्रहरी हिरासतमा मृत्यु भएका युवकको आफन्तले शव बुझेका छन्। प्रहरीले घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेपछि शुक्रबार साझ पोस्टमार्टम गरेर आफन्तले शव बुझेका हुन्।

भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-१ का १९ वर्षीय रोशन विक शुक्रबार बिहान प्रहरी हिरासतमा मृत अवस्थामा फेला परेको प्रहरीले बताउँदै आएको छ। शुक्रबार बिहान आफ्नै सर्टले प्रहरी हिरासतको शौचालयमा झुन्डिएको भन्दै प्रहरीले विकलाई अस्पताल पुर्‍याएका थिए। तर अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले उनको मृत्यु घोषणा गरे।

प्रहरीले शौचालय गएका बेला झुन्डिएर आत्महत्या गरेको बताए पनि उनका आफन्तले भने हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए।

समाचारको विषयलाई लिएर सञ्चारगृहमा आक्रमण

शुक्रबार बिहान प्रहरीले विक प्रहरी हिरासतमा रहेको शौचालयमा झुन्डिएर आत्महत्या गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए। सोही समाचार प्रसारण गरेको धनगढी-४ स्थित दिनेश सञ्चारगृहमा १२/१५ जनाको समुह प्रवेश गरी कुटपिटसमेत गरेकाे थियाे।

सञ्चारगृहमै प्रवेश गरी आक्रमण गर्नेहरुलाई प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन। दिनेश सञ्चार गृहले नामै किटेर किटानी जाहेरी दिँदासमेत प्रहरीले पक्राउ गर्न नसकेको जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले आक्रमणकारीहरुको खोजी भइरहेको बताए। उनले छिट्टै उनीहरु पक्राउ पर्ने बताए।

घटनाको विभिन्न संघसंस्थाद्वारा खेद प्रकट

सञ्चारगृहमा भएको आक्रमणको विभिन्न संघसंस्थाले खेद प्रकट गरेका छ्न्। नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समिति, जिल्ला शाखा कैलाली, प्रेस युनियन, अकोराब, बान, साझा पार्टीलगायत विभिन्न संघसंस्थाले सञ्चार गृहमा नै प्रवेश गरी भएको आक्रमणको खेद प्रकट गर्दै दोषीलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्