बेलायत र जापानबीच व्यापार सम्झौता गर्न सैद्धान्तिक सहमति

लन्डन। बेलायत र जापानबीच व्यापार सम्झौता गर्न शुक्रबार एक सम्झौताका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ। युरोपेली युनियन (इयू) सँगको व्यापार वार्ता संकटमा परिरहेको अवस्थामा जापानसँग बेलायतको महत्वपूर्ण सम्झौता भएको हो।

बेलायती अधिकारीहरुका अनुसार दुबै देशबीच वार्षिक करिब १९ अर्ब डलरको व्यापार हुनेछ, तर सम्झौताको विस्तृत विवरण भने दिइएको छैन।

बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले बेलायतका औद्योगिक सामग्री, खाद्य तथा पेय, र प्रविधि उद्योगलाई जापानी बजारमा सहज पहुँच हुने जानकारी दिए। बलायतका सामानमा जापान प्रवेश गर्दा ९९ प्रतिशतसम्म भन्सार छुट हुने भएकाले एसिया प्रशान्त क्षेत्रमा बेलायतको उपस्थिति बलियो हुने मन्त्री ट्रसले बताए।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानसँगको नयाँ सम्झौताले बेलायतको अर्थतन्त्रमा करिब १५ अर्ब डलरको थप योगदान पुग्ने बेलायत सरकारको आँकलन छ।

इयूसँग व्यापार सम्झौता नभएको अवस्थामा बेलायतमाथि ठूलै संकट उत्पन्न हुने विश्लेषकहरुको भनाई छ।

सन् २०१९ मा बेलायतले करिब ३७ अर्ब पाउन्ड बराबरको सामान जर्मनी निर्यात गरेको थियो जुन बेलायतको कूल निर्यातको झण्डै १० प्रतिशत थियो। जापानतर्फ बेलायतको निर्यात करिब ७ अर्ब डलर मात्र थियो जुन कूल निर्यातको २ प्रतिशतभन्दा केही कम थियो।

यद्यपी इयूसँगको वार्ता अझै जारी छ र ब्रसेल्समा सोमबारदेखि पुन: वार्ता हुँदैछ। गत जनवरी ३१ मै बेलायतले इयू परित्याग गरे पनि यस वर्षको अन्त्यसम्म इयूसँग भन्सार रहित स्वतन्त्र व्यापार गर्न बेलायतलाई छुट छ। तर सन् २०२१ देखि बेलायत र इयूबीच कसरी व्यापार र अन्य सम्बन्धहरु विकास हुन्छन् भन्ने अझै अन्यौल छ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इयूसँग सम्झौता नभए पनि बेलायत इयूबाट बाहिर निस्कने बताइसकेका छन्।

रासस/एपी

प्रतिक्रिया दिनुहोस्