राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारिएको आशङ्का
काठमाडाैं। चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षपछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ। निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा दुई दिनअघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकामा दुई प्वाल र पछाडिको भागमा धारिलो हतियारले काटेको थियो। बरालले भने “खाग र खुर भने सुरक्षित भेटियो”, उहाँले थप्नुभयो “शङ्कास्पद भयो, तस्करले होइन भन्न सक्ने अवस्था रहेन।”

तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता बढाइएको छ। विसं २०७३ चैतमा जगतपुरको एक सामुदायिक वनमा तस्करले गैंडा मारेयता हालसम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन।

निकुञ्जका पशु चिकित्सक डा भीषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो।

मृत भाले गैंडाको टाउकामा दुई प्वाल  थिए। तीनदेखि चार इन्चका ती प्वाल के कति कारणले भएको यकिन नभएको उनले जानकारी दिए। करिब एक साताअघि गैंडा मरेको अनुमान गरिएको छ।

तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ। तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन्।

खाग र खुर सुरक्षित भएकाले घटना रहस्यमय बनेको छ। निकुञ्जमा साउनयता प्राकृतिक कारणले तीन गैंडा मरेका छन्। सशस्त्र द्धन्द्धमा तस्करले एकै वर्षमा ३६ वटासम्म गैंडा मारेका थिए।

पछिल्ला वर्षमा निकुञ्जले नयाँ नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था मजबुत बनाएपछि तस्करले गैंडा मार्न नसकेका हुन्। गत आर्थिक वर्षमा गैंडाको गणना गर्ने भनिएको भए पनि कोरोना सङ्क्रमणका कारण स्थगन भएको थियो। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा  छन्।

रासस

प्रतिक्रिया दिनुहोस्