पुल्चोकमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने सात जना छुटे

काठमाडौं । ललितपुरको पुलचोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक जवानलाई कुटपिट गर्ने सात जनालाई प्रहरीले छाडेको छ।

हाजिरी जमानीमा उनीहरूलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। परिसर प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले महेश बज्रचार्य, पृथविन्दु महर्जन, श्यामकुमार श्रेष्ठ, सुविन शाक्य, ध्रुवराज बज्रचार्य, निरज बादे र रवी शाक्यलाई हाजिरी जमानीमा छाडिएको बताए।

उनीहरूलाई मुलुकी अपराध संहीता २०७४ मा भएको कानुनी व्यवस्था अनुसार छाडिएको हो। जहाँ अनुसन्धान अधिकृतलाई पक्राउ परेका आरोपी नभाग्ने र अपराध अनुसन्धानमा बाधा नपर्ने लागेमा सरकारी वकीलसँगको राय र सल्लाहको आधारमा जमानीमा छाड्न सक्ने प्रावधान छ।

सोही कानुनी प्रावधान अनुसार पक्राउ परेका सातै जनालाई छाडिएको एसएसपी राईले बताए।

उनीहरूमध्ये छ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको र एक जनामा मानसिक समस्या पनि देखिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी कमल घिमिरेलाई कुटपिट गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए।

प्रहरीले उनीहरू विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो। पक्राउ परेकामध्ये अझै १३ जना भने छुटेका छैनन्।

प्रतिक्रिया दिनुहोस्