अपरिचित व्यक्तिको कुटाइबाट एक जनाको मृत्यु

काठमाडाैं। गुल्मीमा अपरिचित व्यक्तिको कुटाइबाट आज एक जनाको ज्यान गएको छ। पिटाइबाट इस्मा गाउँपालिका -२ हस्तिचौर निवासी २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

हस्तिचौरको छिन्नाखोलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका कुँवर बिहान घाइते अवस्थामा फेला परेको थियो। छिन्नाखोलामा कुँवर दाजुभाइ मिलेर होटल व्यवसाय सञ्चालन गरेका थिए।

आइतबार बेलुकी दाजु यमबहादुरले भाइलाई होटलमै छाडेर घर गएको र घरबाट होटलमा आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए।

घाइते कुँवरको गुल्मी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो। अस्पताल ल्याउँदा मृत्यु भइसकेकाले आफूहरुले मृत्यु घोषणा मात्रै गरेको अस्पतालका डा उत्तम पच्याले बताए।

घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक पन्तको नेतृत्वमा प्रहरी टोली घटनास्थल पगेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्