सुन खरिद गर्ने भनी बोलाएर साढे १३ लाख लुटियो

काठमाडौं। सुन खरिद गर्ने बहानामा नगद १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको आरोपमा ५ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका–७ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३२ वर्षीय बिष्णु थापा, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकालबारी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भएका २७ वर्षीय मेघ बहादुर तामाङ रहेका छन्।

भक्तपुर मध्यपुर ठिमीनगरपालिका–९ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएका २८ वर्षीय रुगेन लामा (गोले), बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका २३ वर्षीय आकाश स्याङबो र सर्लाही हरिबन नगरपालिका–५ घर भएका २२ वर्षीय बिशाल लामालाई पनि प्रहरीले सोही घटनामा पक्राउ गरेको छ।

बिहीबार बेलुका काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने उदयपुर चौदण्डी नगरपालिका–४ घर भएका ३७ वर्षीय निराहाङ राईलाई सुन खरिद गर्ने बहाना बनाई बुढानिलकण्ठ नगरपालिका–११ आनीगुम्बा कपनस्थित सडकमा बोलाई अपरिचित ४ जनाले उक्त रकम चोरी गरेका थिए।

यो खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट नगद ८ लाख ७ हजार रुपैयाँ, बा.२४ प २८६७ र प्रदेश नम्बर ३–०२–०१३ प ३३८० नम्बरको मोटरसाइकल, ४ थान मोबाइल र ५ थान सिम समेत प्रहरीले बरामद गरेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्