सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाल्पा, सल्यान, सप्तरी र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाल्पाको रम्भा गाउँपालिका–५ आर्यभञ्याङस्थित सडकमा ना.३ च ८८०८ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भुपाल सिंह रानाको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचारको क्रममा मृत्यु भएको हो। बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यानको दार्मा गाउँपालिका–२ छरीखोलास्थित सडकमा रा.१ त २५०१ नम्बरको ट्रयाक्टरबाट झर्ने क्रममा लड्न जाँदा सोही गाउँपालिका सिमलपुर बस्ने ४९ वर्षीय भद्रे खत्रीको घटनास्थलमै मृत्यु भएको छ। ट्रलीमा सवार खत्री एक्कासी बेहोस भएर लडेको बताइएको छ।

ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका–५ तारखाना पुलस्थित सडकमा स.१० प ५४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा चालक सुरुङगा नगरपालिका–७ बस्ने २३ वर्षीय गाया प्रसाद चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुर बस्ने तुलराम थारुकी छोरी ५ वर्षीया स्मारीका थारुको ट्रयाक्टरको ट्रलीबाट खसेर मृत्यु भएको छ।

सोही ठाउँमा पार्किङ गरी राखेको ट्रयाक्टरको ट्रलीमा खल्ने क्रममा एक्कासी ढाला खुल्न गई स्मारीका भुईमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्