निषेधाज्ञाका समयमा रोकिएन नदी दोहन
<p>सर्लाही। जिल्लामा निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ। खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्धपदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका अवस्थामा जिल्लाका विभिन्न नदीबाट निर्वाधरूपमा नदी दोहन भइरहेको बताइएको छ।</p>
<p>असार, साउन र भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भए पनि ‘के गर्ने के नगर्ने’ भन्दै प्रहरी र स्थानीय निकायको तालमेलबीच नदीजन्य पदार्थ दोहन भइरहेको जनाइएको छ। दिउँसो थोरै मात्रामा मालवाहक सवारीसाधनले नदी दोहन गरे पनि रातका समयमा सयौँका सङ्ख्यामा नदीमा पस्ने र नदीजन्य पदार्थ निकासी गर्ने गरेका छन्।</p>
<p>जिल्लाका चापिनी, लखनदेही, कालीन्जोर, फुजोर तथा बाँकेखोलामा यसरी नदीजन्य पदार्थ निकासी पैठारी भइरहँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन्।</p>
<p>आफूहरुले आफ्नो घर बनाउन एक/दुई खेप बालुवा निकाल्ने गरेको भए पनि प्रहरीले अनेकौँ बहाना बनाएर दुःख दिने गरेको स्थानीयवासीले बताएका छन्। व्यवसायीले व्यावसायिकरूपमा नदी दोहन गर्दा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरुको गुनासो रहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
