इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा हटाउने अदालतको फैसला खारेजीको माग
काठमाडौं। सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्रै प्रयोग गर्ने गरी अदालतले गरेको फैसला अन्यायपूर्ण रहेको नेपाली भाषा तथा साहित्यप्रेमीहरूले बताएका छन्।

नेपाली भाषा तथा साहित्यप्रति समर्पित संस्था अलङ्कार प्रतिष्ठानले आज विज्ञप्ति जारी गरेर इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग हटाउने गरी अदालतले गरेको फैसला नेपाली भाषा माथिको षड्यन्त्र भएको उल्लेख गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष भारती न्यौपाने दाहालले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालभित्र प्रयोग हुने सवारी साधनमा नेपाली भाषालाई उपेक्षा गर्ने कार्य अत्यन्त निन्दनीय छ। न्यायको खोल ओढेर भाषा मास्न लागिपरेको न्यायालयका भ्रष्टाचारीहरूको यो कदमको घोर भर्त्सना गर्दैछौं।”

आफ्नो भाषा तथा संस्कृतिप्रति ममता नभएका परशक्तिबाट परिचालित तथाकथित भाषाविज्ञ भनाउँदाहरूले नेपाली भाषाको अस्तित्व नै संकटमा पार्ने गरी शब्दकोश तोडमोड गर्ने गरेको भन्दै प्रतिष्ठानले नेपाली भाषा माथिको हस्तक्षेप कहिल्यै पनि स्वीकार्य नहुने बताएको छ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले चालेका कदमप्रति अलङ्का प्रतिष्ठानले ऐक्यवद्धता जनाउँदै अदालतको फैसलाको शीघ्रातीशीघ्र खारेजीको माग गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्