बागलुङ पहिरोमा फेला परेका १३ को सनाखत: एक बाँकी

बागलुङ। भदौ १७ गते रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ।

पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, वडा नं. ९ कै २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक र ११ वर्षीय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

त्यसैगरी ६ वर्षीय बिराज बिक, ६५ वर्षीया ज्योती पुन, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनि बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिकको पहिचान गरेर जिम्मा लगाइएको भण्डारीले बताए।

घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी रहेको छ। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले नदी किनारमा खोजतलास गरिरहेका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।

बाढी पहिरोले बोबाङको फल्लेघर, सुकुरदुङ, घट्टबोट, लाकुरीबोटलगायतका स्थानमा अधिकांश घर क्षतिग्रस्त देखिएका उनले बताए।

वडा नं. ८ र ९ मा करिव ४० घर बगेका देखिएपछि वडाबाट आवश्यक तथ्याङ्क सङ्कलन शुरु गरिएको नगर प्रमुख देवकुमार नेपालीले बताए।

पहिरोमा ८० घरमा पूर्ण क्षति, ५१ घरमा आंशिक क्षति, ११ लघुजलविद्युत्, स्वास्थ्य एकाइ एक, झोलुङ्गे पुल ११, ढलान पुल पाँच, काठे पुल १० र दुई बिद्यालयमा क्षति पुगेको नगरपालिकाले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्