दलित युवा विजयराम चमार मृत्यु प्रकरणका दोषीलाई कारबाही गर्न वरिष्ठ अधिवक्ता त्रिपाठीको माग

काठमाडौं। वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणका दोषीहरुलाई कडा कारबाही गर्न माग गरेका छन्।

बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै अधिवक्ता त्रिपाठीले राज्य संयन्त्रको कारणले कोरोना महासंकटको अवधिमा मानवअधिकारको गम्भीर हनन भएको टिप्पणी गरे।

उनले राज्य नै ठूलो भक्षकको रुपमा देखा परेको जिकिर गर्दै श्रृंखलावद्ध रुपमा नागरिकहरुको अधिकार अपहरण भइरहेको आरोप लगाए।

धनुषामा शम्भु सदाको हिरासतमै मृत्यु भएको र अहिलेसम्म दोषीमध्ये कसैलाई कारबाही नगरिएको प्रशंग सम्झाउँदै उनले भने, “यो नेपालको लागि एउटा अन्तर्राष्ट्रिय लज्जाको विषय हो।”

प्रहरी प्रशासनले पीडित परिवारको जाहेरी समेत लिन अस्विकार गरेको उनले बताए। “यस्तो गम्भीर घट्नाको बारेमा वस्तुगत र वैज्ञानिक छानबिन हुनैपर्छ।”

अर्का अधिवक्ता शैलेन्द्र अम्बेडकरले सदाको मृत्यु प्रकरणमा तीन जना प्रहरीलाई निलम्बन गरे पनि थानाका ईन्चार्जमाथि कुनै कार्वाही वा अनुसन्धान नभएके बताए।

“हिरासतमा लिएर चरम यातना दिनु र त्यही कारणले मान्छेको ज्यान जानु भनेको गम्भीर प्रकृतिको अपराध हो। यस्तोमा तत्काल सम्बन्धित सबैलाई निलम्बन गरी अनुसन्धान हुनुपर्छ,” अम्बेडकरले भने।

सदाको मृत्यु प्रकरणमा एकजना प्रहरी निरीक्षक नवीनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका छन्। गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्या आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले सदालाई पक्राउ गरेको थियो।

हिरासतमा बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ।

यसबारे अनुसन्धान हुने भएपछि उनको सोधपुछमा संलग्न इन्स्पेक्टर सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंह निलम्बनमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्