कोरोना विरुद्धको लडाइँमा ४८ हजार प्रहरी, पाएनन् कोरोना भत्ता

काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) हरि लामिछानेले साउनको ९ गते स्वाव परीक्षण गराए। कोरोना संक्रमणको शंका लागेर नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गएर स्वाव परीक्षण गराएका थिए।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत असई लामिछानेसँगै अरू १९ जना प्रहरीको पनि सोही दिन स्वावको परीक्षण भयो। परीक्षणको दुई दिनपछि साउनको ११ गते परीक्षण रिपोर्ट आयो।

जुन रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखायो। परीक्षण गराएकामध्ये एक जनाको मात्रै रिपोर्ट नेगेटिभ आयो। त्यसपछि, साउनको १३ गते असई लामिछानेसहित १९ जनाको टोली सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु गए।

जुन टोलीमा लागूऔषध कारोबारमा संलग्न एक जना बंगाली नागरिक पनि मिसिए। सुरुमा कोरोना संक्रमण भने प्रहरी हवल्दार शंकर न्यौपानेलाई देखिएको थियो। अनि, अरु प्रहरीमा पनि संक्रमणको लक्षण देखिएपछि परीक्षण गराउँदा यति धेरै सङ्ख्यामा देखिन पुग्यो।

र, साउनको २४ गतेसम्ममा संक्रमित प्रहरीको सङ्ख्या ५८ जना पुग्यो। संक्रमित सबै प्रहरी प्रहरी प्रधान कार्यालय अन्तर्गतको सवारी महाशाखामा आबद्ध छन्।

“बलम्बुमा पुगेको १० दिनमा हामी सबैको दोस्रो पटक स्वाव परीक्षण भयो, जहाँ १८ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो र दुई जनाको भने पोजेटिभ आयो”, असई लामिछानेले देखापढीसँग भने, “नेगेटिभ रिपोर्ट आएका १८ जना र एक जना थुनुवा गरी १९ जना डिस्चार्ज भयौं र, पछि अरु दुई जना प्रहरी पनि निको भए।”

अस्पतालमा रहँदा उनीहरूले खानाको अतिरिक्त बिहान कागती मिसाएको चिया पिउने, बेलुकी बेसार पानी र गुर्जो खाने गरे। नियमित शारिरीक व्यायाम पनि गरे। यससँगै तनावमुक्त हुने गरिका गतिविधि गरे।

“संक्रमण देखिएपछि मानिसहरू तनाव लिने, आत्तिने देखियो र हामीले नआत्ती तनावमुक्त गर्ने गतिविधि गर्‍र्यौैं”, उनले भने, “कोरोनालाई जितेरै छाड्छु भनेर आत्मविश्वास बढाउनुपर्छ, परिवारका सदस्यहरूले पनि हौसला बढाउनुपर्छ र तनाव लिन हुँदैन, निको भइन्छ।”

महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक जना प्रहरी नायव निरीक्षक पनि कोरोनामुक्त भएको सात दिन भएको छ।

ज्वरो र रुघाखोकीपछि शंका लागेर नेपाल प्रहरी अस्पतालमा भदौको १ गते स्वाव परीक्षण गराउँदा दुई गते उनमा संक्रमण पोजेटिभ देखिएको थियो।

त्यसपछि सोही अस्पतालको आइसोलेसन वार्डमा उनको बसाइँ भयो। १० गते स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि त्यसको एक दिनपछि भदौ ११ गते डिस्चार्ज भए। उनी पूरै ड्युटीमा खटेका छैनन्।

यस्तै, ट्राफिक प्रहरी महाशाखा बग्गिखानामा कार्यरत प्रहरी हवल्दार हेमराज पाण्डे पनि कोरोना संक्रमित भए। १६ गते उपचारपछि निको भएका उनी ब्यारेकमा अलग्गै बस्दै आएका छन्।

०००

मुलुकमा शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी कोरोना विरुद्धको लडाइँमा पनि अग्रमोर्चामा खटिँदा दिनहुँ संक्रमित हुनु परेको छ। कोरोना संक्रमणको उच्च जोखिमसँग शुरुआतदेखि नै प्रहरीको लडाइँ जारी छ।

सरकारले गरेको बन्दाबन्दी होस् या निषेधाज्ञा, प्रहरीको खटाइ दिनरात छ। फेरि, जोखिम मोलेर अब्बल कार्य कौशलता प्रदर्शन गर्नु प्रहरी हुनुको बाध्यता पनि हो।

यसरी अग्रमोर्चामा खटिँदा बुधबार बिहानसम्ममा देशभर एक हजार ९५४ जना प्रहरी संक्रमित हुन पुगेका छन्। जसमध्ये ८१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। बाँकी एक हजार १४१ जना उपचाररत छन्।

प्रहरी प्रधान कार्यालयका अुनसार मङ्गलबार साँझसम्म देशभर ५८३ जना क्वारेन्टाइनमा छन्। जसमध्ये २३ जना महिला र बाँकी ५६० जना पुरुष प्रहरी कर्मचारी छन्।

फिल्डमा खटिने ट्राफिक प्रहरीमा पनि संक्रमण बढिरहेको छ। १६४ जना ट्राफिक प्रहरी संक्रमित देखिएका छन्। जसमध्ये छ जना प्रहरी नायव निरीक्षक, आठ जना प्रहरी सहायक निरीक्षक, ३७ जना हवल्दार, १०८ जना प्रहरी जवान र पाँच जना प्रहरी कार्यालय सहयोगी संक्रमित छन्।

०००

संक्रमणको उच्च जोखिमको बखत अग्रमोर्चामा खटिने सुरक्षाकर्मीहरूलाई सरकारले भत्ता दिने निर्णय यसअघि नै गरिसकेको छ। तर, हालसम्म एक जना पनि प्रहरीले भत्ता पाएका छैनन्।

जीवनलाई जोखिममा पारी कर्तव्यनिष्ठ भएर देश र जनताको सुरक्षार्थ खटिँदा सरकारले दिने निर्णय गरेर भत्ता नदिँदा ढाँटेको रूपमा कतिपय सुरक्षाकर्मीहरूले बुझेका छन्।

“सरकारले भत्ता दिने भनेकै हो, तर हामीले पाएका छैनौं”, कार्यस्थलमै रहँदा कोरोना संक्रमण भएर निको भएका असई लामिछानेले भने, “जोखिम मोलेर हामी कर्तव्यनिष्ठ भएर कार्यक्षेत्रमा छौं, खटेका छौं, खटिनेछौं, जुन हाम्रो कर्तव्य पनि हो।”

कार्यस्थलमा खटिने सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सुरक्षण सामग्रीको अभाव छ। अभावकाबीच मानिसहरूलाई भीड्भाड गर्न नदिएर कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि प्रहरीको भूमिका छ।

अर्कोतिर, दैनिक ‘पुलिसिङ’ सँगै अपराध अनुसन्धान, अभियुक्त पक्राउ गर्नेदेखि शान्ति सुरक्षा कायम गर्नमा प्रहरीको खटाइ रहँदै आएको छ।

हाल नेपाल प्रहरीमा कोरोना संक्रमणको लडाइँमा ४८ हजार २२९ जना प्रहरी छन्। प्रहरी संक्रमित भएर कुनै प्रहरी युनिट शिल वा क्वारेन्टाइनमा बसाउनु परेको अवस्थामा प्रयोग गर्ने गरी ९ हजार ५५३ जना प्रहरी ‘स्टेन्ड बाइ’ छन्।

यसरी ठूलो सङ्ख्याको प्रहरी कोरोना लडाइँमा सहभागी छन्। उनीहरूका लागि प्रहरी प्रधान कार्यालय नक्सालले सरकारले गरेको निर्णय अनुसारको दैनिक भत्ता दिन भन्दै गृह मन्त्रालयमा कागजात बुझाइ सकेको छ।

“हामीले हाम्रो तालुकदार निकाय गृह मन्त्रालयमा भत्ता मागसँग सम्बन्धीत आवश्यक कागजात बुझाइ सकेका छौं”, प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा एसएसपी कुबेर कडायतले भने, “प्रक्रियामा होला, छिट्टै आउँछ होला।”

सरकारले कोरोना संक्रमणको जोखिमका बाबजुद कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मीका लागि दैनिक तीन सय कोरोना भत्ता दिने निर्णय गरेको छ। तर, हालसम्म दिएको छैन।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाले प्रहरी प्रधान कार्यालयले कोरोना भत्तासँग सम्बन्धीत कागजात उपर निर्णय भइसकेको बताए। उनले भत्ता वितरणमा ढिलाइ नहुने बताए।

“भत्तासँग सम्बन्धी निर्णय भइसकेको छ”, प्रवक्ता बुढाले भने, “अर्थमन्त्रालयले निकासा गर्न बाँकी छ, छिट्टै निकासा होला।”

नेपालमा पहिलो कोरोना संक्रमित गत वर्षको माघ १० गते देखिएको थियो।

त्यसपछि सुरक्षा निकायमध्ये नेपाल प्रहरी शुरुआतदेखि नै कोरोनाको लडाइँमा जोडिएका छन्। अझ, चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गरेपछि त झन प्रहरीको खटाइ बढी हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्