भाजपा नेतामाथि फेसबुकको कारवाही
काठमाडौं। हिंसा र घृणावृद्धि गर्ने सामग्री पोस्ट गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा)का नेता टी. राजा सिंहलाई फेसबुकले आफ्नो मञ्च फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाएको छ।

फेसबुकका प्रवक्ताले ईमेलमार्फत् सिंहले फेसबुकको नीति उल्लघंन गरेको आरोप लगाएको हो।

फेसबुकले भनेको छ, ‘‘हिंसा बढाउने, घृणा उत्पन्न गर्ने या त्यसमा संलग्न हुनेलाई प्रतिबन्ध लगाउने हाम्रो नीति छ।’’ यही नीति उल्लंघन गरेकाले भाजपा नेता सिंहमाथि फेसबुक प्रयोगमा प्रतिबन्ध लगाएको बताइएको छ।

नीति उल्लंघनको मूल्यांकन गर्ने प्रक्रिया व्यापक छ र त्यसकै आधारमा एकाउन्ट हटाउने निर्णय हुन्छ। हालै बीबीसी, वाल स्ट्रिट जर्नल, रोयटर्स तथा टाइम म्यागजिनमा फेसबुकको भारतीय इकाइका केही पदाधिकारीले भाजपालाई मद्दत गरेको खबर आएको थियो।

यो खबरपछि फेसबुक प्रश्नहरुको कठघरामा उभिँदै आएको थियो। भारतमा ३० करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता छन्।

उता, भारतका सूचना तथा प्रौद्योगिक मन्त्री रविशंकर प्रसादले भने मंगलबार फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई पत्र लेख्दै फेसबुकका कर्मचारीले चुनावमा हारेका मानिसले प्रधानमन्त्री तथा वरिष्ठ क्याबिनेट मन्त्रीलाई गाली गरेको पोस्टको समर्थन गरेको आरोप लगाएका छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्