कर्तव्य ज्यान मुद्दाका ५ जना फरार प्रतिवादीहरू पक्राउ
म्याग्दी। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद (जन्मकैद) ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका-४ बस्नेहरू २८ वर्षीय बलमान घर्ति, ३३ वर्षीय जिवन घर्ति मगर, २६ वर्षीय दुर्गा बहादुर घर्ति तथा २७ वर्षीय दल प्रसाद पुन र सोही गाउँपालिका-५ बस्ने २९ वर्षीय तिथेन्द्र घर्ति मगर रहेका छन्।

यी मध्ये दुर्गा बहादुर र दल प्रसाद पुनलाई वारदातका समयमा बालबालिका भएकाले जिल्ला अदालत म्याग्दीले आधा सजाय तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको विशेष टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा कास्कीका विभिन्न स्थानहरूमा विभिन्न आवरणमा लुकिछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कारागार कार्यालय म्याग्दीमा पठाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्