तनहुँमा ट्राफिक प्रहरीको 'नमस्कार' अभियान

तनहुँ। जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ।

आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो।

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरू गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिए।

प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उनले बताए। उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेको छ।

यस अभियानअन्तर्गत जाँचचौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधनसहित नमस्कार गर्दै तोकिएको कानूनबमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ।

ट्राफिक प्रहरीले आम नागरिकमाथि हुने गरेको दुर्व्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो।

प्रतिक्रिया दिनुहोस्