कोरोनाले कन्सल्टेन्सी व्यवसायी मारमा, भन्छन्– तरकारी बेच्न जानुपर्ला जस्तो छ

काठमाडौं। विश्वभर महामारी बनेर मानिसको दैनिक जीवनलाई तहसनहस बनाएको कोरोना भाइरसले प्राय सबैलाई साढे पाँच महिनादेखि घरै भित्र थुनेर राखेको छ।

भीड थुनिएसँगै शून्य अवस्थामा छ, कन्सलटेन्सी व्यवसाय। दैनिक सयौंको संख्यामा नेपाली विद्यार्थी यीनै कन्सलटेन्सीको माध्यमबाट पढ्नका लागि विदेश जान्थे। आईईएलटीएस गर्थे। तर, लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण यो व्यवसाय अहिले ठप्प छ।

“कन्सलटेन्सीको अफिसमा त झार उम्रेको छ। मुसाले गुँड लगायो होला। तर, अब त्यसो भनेर आत्तिहाल्नु पनि भएन,” बानेश्वर स्थित भिभिद कन्सलटेन्सीका अध्यक्ष लक्ष्मण घिमिरे भन्छन्, “पर्ख, हेर र अघि बढको अवस्था छ।”

प्राय सबै व्यवसाय अहिले कोरोनाले गर्दा धरासायी अवस्थामा पुगेका छन्। केही सीमित व्यवसायबाहेक अन्य क्षेत्रमा लगानी गरिहाल्ने अवस्था पनि छैन। त्यसैले यो क्षेत्र नै छाडेर अन्य क्षेत्रमा जाने तत्काल योजना पनि नभएको घिमिरे बताउँछन्।

“आफ्नो अनुभव यसै क्षेत्रमा छ, अन्य क्षेत्रमा लगानी गर्नलाई पुँजी पनि चाहियो। त्यसैले अहिले अब बिस्तारै अवस्था सामान्य होला भन्ने आश छ,” तीन वर्षदेखि कन्सल्टेन्सी व्यवसाय गर्दै आएका घिमिरेले भने।

कन्सल्टेन्सी व्यवसाय ठप्प हुँदा उच्च तथा गुणस्तरीय शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीको भविष्य पनि अन्योलमा परेको छ। विद्यार्थीको क्षमता विकासमा असर त गर्यो नै, साथसाथै यस क्षेत्रमा काम गर्नेको रोजगारी पनि संकटमा परेको छ।

साढे पाँच महिनादेखि घर भाडा तिरेर स्टाफलाई तलब मात्रै दिनुपर्ने र आम्दानी शून्य भएकोले कन्सलटेन्सी व्यवसायीहरूको चिन्ता अधिक बढेको छ।

सरकारले घर भाडाको विषयमा स्पष्ट नीति नबनाइदिएकाले घरधनीको दयाका शिवाय भाडाबाट छुट्कारा पाउने कुनै विकल्प छैन।

“एक, दुई, तीन गर्दै साढे पाँच महिना बितिसक्यो, आम्दानी शून्य हुँदा स्टार्फ आपसी समझदारीमा केही प्रतिशत तलब लिन राजीछन्। तर, घरभाडा त छुट हुनेवाला छैन,” पाँच वर्षदेखि पुतलिसडकमा स्टुडेन्ट्स प्राइड कन्सलटेन्सी चलाउँदै आएका सुरज खनाल भन्छन्, “यदि पूरा साढे पाँच महिनाको भाडा नै तिर्नुपर्यो भने त कन्सलटेन्सी बन्द गरेर तरकारी बेच्न जानु बेस हुन्छ।”

नेपाली विद्यार्थीको प्रमुख आकर्षणको केन्द्र हुन्– अस्ट्रेलिया, बेलायत, जापान तथा अमेरिका। तर, यीनै देशले पनि स्पष्ट नीति बनाएर तत्काल विद्यार्थी लैजाने कि नलैजाने भन्ने निधो गरिसकेका छैनन्। त्यसैले कन्सलटेन्सी व्यवसायीहरु कहिलेबाट आम्दानी सुरु हुन्छ भन्नेमा विश्वस्त हुन सकेका छैनन्।

“विद्यार्थी पठाउँदा हुने आम्दानीसँगै नियमित सञ्चालन हुने आईईएलटिएसका कक्षा पनि हाम्रो प्रमुख आम्दानीको स्रोत हो। तर, अहिले त्यो पनि छैन। यसले विद्यार्थीको भविष्य, हाम्रो व्यवसाय र यो व्यवसायमा आश्रित श्रमिकको रोजगारीमा ठूलो समस्या ल्याएको छ,” खनालले भने, “युकेको काम केही हदसम्म सुरु भएको छ, त्यसले अलिकति भए पनि आशा जगाएको छ। तर, वर्तमान अवस्थामा ठूलो लगानी गरेर खोलिएका कन्सलटेन्सीको अवस्था एकदमै दयनीय बनेको छ।”

चैत ११ गतेदेखि देशव्यापी रूपमा भएको लकडाउन १ सय २० दिनपछि साउन ७ गते खुलेको थियो। तर, त्यसपछि कोरोना भाइरसको महामारी पुनः फैलिँदै गएपछि स्थानीय स्तरले आफै निषेधाज्ञा र लकडाउन जारी गर्न थाले।

यसै गरी काठमाडौं उपत्यकामा पनि भदौ ३ गतेदेखि जारी भएको निषेधाज्ञा छिट्टै खुल्ने सम्भावना देखिँदैन। आइतबार मात्र एक दिनमा देशकै सबैभन्दा धेरै संक्रमित देखिए। आइतबार काठमाडौंमा मात्र ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। र, ललितपुर, भक्तपुरसहित जम्मा ४२९ जना कोरोना भाइरस संक्रमित थपिएका थिए।

पछिल्लो समय झन् कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा कहिले खुल्ने र व्यवसाय कहिले सञ्चालनमा आउने निश्चित नहुँदा व्यवसायी झन् चिन्तित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्