अफगान राष्ट्रपतिद्वारा तालिबानसँग वार्ता सहजीकरणका लागि परिषदको घोषणा
रासस। अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानसँग शान्तिवार्ता गर्नेगरी राष्ट्रिय मेलमिलापका लागि एक परिषदको घोषणा गरेका छन्। प्रस्तावित परिषदले तालिबानसँग शान्ति सम्झौताका निम्ति मार्गप्रशस्त गर्नेछ।

संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच गत फेब्रुअरीमा भएको सम्झौताले अन्तर-अफगान शान्तिवार्ताका लागि ढोका खोलेको थियो। तर तोकिएको समयावधिभित्र दुबै पक्षबीच शान्तिवार्ता नभएको भन्दै अमेरिकाले असन्तोष प्रकट गर्दै आएको छ।

खासगरी अफगान जेलमा बन्दी रहेका पाँच हजार तालिबानीको रिहाईको विषयले सरकार र तालिबानबीचको वार्तामा ढिलाई भइरहेको छ।

अफगान सरकारले हालसम्म चार हजार ६०० तालिबान लडाकूलाई रिहा गरिसकेको भए पनि गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न ३२० जना लडाकूलाई भने रिहाई गरिएको छैन।

अफगान राष्ट्रपति घानीले शनिबार अबेर एउटा वार्ताको सहजीकरणका लागि ४६ सदस्यीय परिषदको घोषणा गरे। उक्त परिषदको नेतृत्व गत राष्ट्रपतीय निर्वाचनमा पराजित तर वर्तमान सरकारमा सहभागी अब्दुल्लाह अब्दुल्लाहले गरेका छन्।

यो परिषद घानीले नै घोषणा गर्नु भएको २१ सदस्यीय वार्ता टोलीभन्दा पृथक रहेको छ। यो टोलीले कतारमा तालिबान समूहसँग वार्ताका लागि चाँडै दोहा भ्रमण गर्ने अपेक्षा गरिएको छ।

तर पछिल्लो पटक घोषणा गरिएको परिषदले वार्ता टोलीले गर्ने सहमतिका बुँदामाथि विचारविमर्श गरी अन्तिम निर्णय दिनेछ। नयाँ घोषित परिषदमा अफगानिस्तानका वरिष्ठ राजनीतिक व्यक्तित्वहरु सहित नौ जना महिला प्रतिनिधिहरु रहेका छन्। साथै परिषदमा पूर्व राष्ट्रपति हमिद कारजाईलाई पनि राखिएको थियो तर उनले सरकारले गठन गरेको त्यस्तो परिषदमा बस्न अस्वीकार गरेको छ।

परिषदमा वर्षौंदेखि अफगान युद्ध लडेका मुजाहिद्दीन र जिहादी नेताहरुका साथै सन् २०१६ मा घानीसँग शान्ति सम्झौता गरेका गुलबुद्दीन हिक्मतयार, खुँखार आतंकवादी अब्दुर रसूल सयाफ समेतका नेताहरु छन्।

तर तालिबान समूहले भने २० सदस्यीय वार्ता टोली मात्र बनाएको छ जसलाई सरकारसँग वार्ता गर्ने सम्पूर्ण अख्तियारी दिइएको छ। तालिबान समूहले आफ्ना नेता मुल्लाह हिबातुल्लाह अखुनजादाका विचारलाई मात्र अगाडि बढाउने बताइसकेको छ।

प्रतिक्रिया दिनुहोस्