६ वर्षमा पनि भेटिएनन् हत्यारा
बाग्लुङ। वर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन्। विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो। हत्या भएको ६ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन। प्रहरी अनुसन्धान सुस्ताएको छ। न्यायको आवाज पनि मधुरो हुँदै गएको छ।
काठेखोला गाउँपालिका-६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो हतियार प्रयोग गरी विभत्स ढङ्गले हत्या गरिएको थियो। हत्यास्थल बागलुङ नगरपालिका-३ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्छ। गौतम हत्या प्रकरणमा रहस्यको पर्दा अझै उघ्रेको छैन।
घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिसकेको छ। हत्यालगत्तै प्रहरीले अनुसन्धान थालेपनि पीडितपक्षले अझै न्याय पाउन सकेको छैन।
उनले ९९ प्रतिशत अनुसन्धान सकिएको र छिट्टै अपराधी सार्वजनिक गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए। तर, सरुवापछि जिल्ला छाडेर जाँदा उनले ‘रुपा हत्या काण्ड’का दोषी पत्ता लगाउन नसकेकामा दु:ख व्यक्त गरेका थिए।
त्यतिबेला प्रहरीले घटनाका सम्भावित अभियुक्त भारतमा रहेकाले पक्राउ गर्न नसकिएको बताएको थियो। त्यसयता आउने नयाँ प्रहरी प्रमुखले पनि उक्त हत्या प्रकरणबारे धेरै प्रश्नको सामना गर्नुपरिरहेको छ।
वर्षाैंसम्म पनि दोषी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट बेलाबेला प्रहरीको आलोचना हुने गरेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले अनुसन्धान जारी रहेपनि कुनै उपलब्धि हासिल नभएको बताए।
“अहिले पनि अनुसन्धान अधिकृत तोकेर उक्त घटनामा अनुसन्धान भइरहेको छ”, उनले भने, “मैले पनि पहिलेको मिसिल हेरे, सिआइबीको अनुसन्धान प्रतिवेदन पनि अध्ययन गरे तर नयाँ प्रगति केही छैन।”
शङ्कास्पद देखिएका कतिपय व्यक्ति नेपालमा नरहेका कारण अनुसन्धान बीचमै अड्किएको उनीको भनाइ छ।
“घटनाको फ्लोअप भइरहेको छ”, प्रउ चौधरीले भने, “एक दिन सबै यथार्थ खुल्छ, समय भने लाग्न सक्छ।” अधिवक्ता एवम् अधिकारकर्मी राम शर्माले अनुसन्धानमा प्रहरी अलमलिएको उल्लेख गरे। “प्रहरी अपराधीको नजिक नपुगेको होइन, तर के कारणले हो अहिलेसम्म दोषी सार्वजनिक हुन सकेको छैन”, उनले भने।
हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमा प्रहरी चुक्नु दुर्भाग्यपूर्ण भएको अधिवक्ता शर्माको भनाइ छ। “प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर पुन: शुरुदेखि अनुसन्धान थाल्नुपर्छ”, उनीले भने, “यो घटनाले न्याय हराएको जस्तो अनुभूति हामी सबैलाई भएको छ।”
घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले कैँयन व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो। घटनाको प्रकृति हेरेपछि पेसेवर अपराधीबाटै गौतमको हत्या भएको निचोडमा प्रहरी पुगेको थियो।
रासस
प्रतिक्रिया दिनुहोस्