सिन्धुपाल्चोकको लिदीका पहिरो पीडितहरूलाई राप्रपाको पाँच लाख ६ हजार राहत
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीका पहिरो पीडितहरूलाई बिहीबार राहत वितरण गरेको छ।

जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार बाह्र हजार रूपैयाँ उपलब्ध गराएको छ।

सो अवसरमा पूर्ण रूपमा घरबारीमा क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र विस्थापित १२७ घरधुरीलाई प्रति परिवार दुई हजार रूपैयाँको दरले राप्रपाले राहत उपलब्ध गराएको छ।

समारोहमा कूल पाँच लाख ६ हजार रूपैयाँ हस्तान्तरण गरिएको थियो। उक्त अवसरमा जारी गरिएको सन्देशमा राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै स्थानीय जनताको पिरमर्कामा सदा साथ रहने बताए।

राप्रपाका अध्यक्ष, जिल्लाका विभिन्न तहमा क्रियाशील नेताहरूको अग्रसरता र सहयोगमा लिदीका पहिरो पीडितहरूलाई राहत रकम उपलब्ध गराइएको हो।

राप्रपाका केन्द्रीय सदस्यहरू रमेश लामा र उदय सापकोटा, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सदस्य नारायण पाण्डे, क्षेत्रीय अध्यक्ष शिव भण्डारीलगायत जिल्ला र क्षेत्रका पदाधिकारीहरूको उपस्थितिमा राहत वितरण गरिएको थियो।

अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्