बन्दीपुरमा भेटेरीनरी अस्पताल निर्माण सुरु
काठमाडाैं। तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ। गण्डकी प्रदेश सरकारको एक करोड रूपैयाँ लगानीमा बन्दीपुर गाउँपालिका–१ नाहालामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको हो।
जेठदेखि निर्माण शुरु भएको भवनको पहिलो तल्लाको ढलान गर्न बाँकी छ। कोरोना कहरका कारण भवन निर्माणमा ढिलाइ भएको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए।
“कोभिड–१९ को सङ्कट नभएको भए यतिबेलासम्म धेरै काम अगाडि बढिसक्थ्यो तर चालु आर्थिक वर्षभित्रै भवन निर्माणको सम्पूर्ण काम सम्पन्न हुन्छ,” उनले भने।
भवनमा छ कोठा हुनेछन् भने शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष लागि अर्को भवन निर्माण हुने जनाइएको छ। बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो।
यस अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन्। त्यसको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्नेछ। भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले रु एक रोपनी जग्गा गाउँपालिकालाई दान गरेका थिए।
गाउँपालिकाको पशुपंक्षी शाखाको नाममा करीब रु ७५ लाख मूल्यबराबरको जग्गा दान गरेका थिए। वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरीनरी अस्पताल निर्माणका लागि पहल भएपनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको थिएन।
बन्दीपुरमा एक हप्ता लम्बियो बन्दाबन्दी
बन्दीपुर गाउँपालिकाले बन्दाबन्दी थप एक हप्ता लम्ब्याएको छ। कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेकाले गाउँपालिकाले भदौ ६ गते शनिबारदेखि १२ गतेसम्मलाई बन्दाबन्दी लम्ब्याएको हो।
गाउँपालिकाले यस अगाडि साउन ३० गतेदेखि भदौ ५ गतेसम्मलाई बन्दाबन्दी गरेको थियो। कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता बन्दाबन्दी लम्ब्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।
बन्दीपुर गाउँपालिका वडा नं १, ४ र ५ अन्तर्गतका बजार तथा राजमार्ग क्षेत्रभित्र औषधिजन्य स्वास्थ्य सेवा, बैङ्कका एटिम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाउँपालिकाका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ।
रासस
प्रतिक्रिया दिनुहोस्