बिक्री भएनन् माटोका भाँडावर्तन

सुनसरी। गत वर्षको चौठचन्द्र (चौरचन) पर्वमा सुनसरी इनरुवा-२ का दरपी पण्डितले माटोको भाँडाको बिक्रीबाट ६० हजारदेखि ७० हजारसम्म आम्दानी गरेका थिए। उनले पर्वलाई आवश्यक पर्ने छाछ, छाछी, दियो र कौरना लगायतका माटोका भाँडा बनाएर बिक्री गरी सो आम्दानी लिएका थिए।

यस पर्ष भने २० हजारदेखि ३० हजारसम्म समेत आम्दानी लिन मुश्किल रहेको उनले दुखेसो पोखे।

त्यसैगरी इनरुवा-२ लक्ष्मी पण्डितले पनि गत बर्षको सो पर्वमा ३० हजारदेखि ४० हजारसम्म आम्दानी लिएका थिए। उनले भने,“यस वर्षको पर्वमा अपेक्षाकृत आम्दनी लिन सकिएन।”

यी दुई जना पण्डित अर्थात कुम्भकार समुदाय सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन्। इनरुवा सहित कोशी, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंह, दुहबी लगायतका क्षेत्रमा रहेका ती समुदायले यस वर्ष माटोको भाँडाबाट अपेक्षाकृत आम्दानी गर्न नसकेको बताएका छन्।

कोरोनाको जोखिम हुन नदिन स्थानीयतह र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका कारणले भाँडावर्तन बनाएको भएपनि विक्री वितरण हुन नसकेको लक्ष्मीले जानकारी दिए।

चाडपर्व लक्षित गरेर विभिन्न किसिमको माटोका भाँडा बनाएको भएपनि लकडाउनका कारणले स्थानीय स्तरमा लाग्ने हाटबजार नलागेकाले समस्या भएको कुम्भकार समुदायले जनाएका छन्।

नेपाल प्रजापति कुम्भकार सङ्घका सुनसरीका अध्यक्ष ज्ञानदेव पण्डितले माटोका भाँडा वर्तनको बिक्रीबाट आएको आम्दानीबाट घरपरिवार चलाउदै आएकोमा यस वर्ष हाटबजार नलागेको कारण झन् समस्या भएको बताए।

अर्को तर्फ ती समुदायले स्थानीय तहले कोरोना भाइरस महामारीका बेला राहत नदिएको गुनासो गरेका छन्। आफूलाई एक पटक मात्र राहत दिएकाले कसरी घर परिवार चलाउने भन्ने समस्याले पिरोली रहेको लक्ष्मीको भनाई छ।

माटो र दाउराको अभाव रहँदा भाँडावर्तनले बजार नपाउदा निकै समस्या हुने गरेको कुम्भकार समुदायले बताएका छन्। बनाएको माटोका सामग्री बिक्री वितरण नभएको र लगानी अनुसारको आम्दनी नभएकाले युवा पुस्ताको यस पेशा प्रति आकर्षण घटेको कुम्भकार समुदायका अगुवा ज्ञानदेवको भनाई छ।

विभिन्न राजनीतिकदलले कुम्भकार समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको जनाउँदै आफ्नो समुदायको समस्या प्रति स्थानीय, प्रदेश र संघीय सरकार उदासिन भएको सङघ उपाध्यक्ष पण्डितले बताए। तराई मधेश क्षेत्रमा आगामी शनिबार चौठचन्द्र पर्व मनाइँदै छ।

रासस

प्रतिक्रिया दिनुहोस्