जुम्लामा औषधि विज्ञान पठनपाठन गर्न अनुमति

काठमाडाैं। नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ हुने भएको छ।

चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसँगै यहाँ पढाइ हुने भएको हो। डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महङ्गो तिरेर पढ्न बाध्य थिए। अब कर्णालीमै पहिलो पटक पढाइ हुन थालेपछि यहाँ निकै उत्साह देखिएको छ।

कर्णाली प्राविधिक शिक्षालयका प्रमुख आशाकुमारी श्रेष्ठ डिप्लोमा इन फार्मेसी पढ्न तराईका जिल्लामा जानुपर्ने बाध्यता टरेको बताए।

“अब सस्तो, सुलभ र गुणस्तरीयरुपमा जुम्लामै औषधि विज्ञानको (डिप्लोमा इन फार्मेसी) पठनपाठन हुनेछ। यो समग्र कर्णालीको लागि निकै सुखद् पक्ष हो,” उनले भने, "यो तीनवर्षे कोर्ष हुनेछ।"

कर्णाली प्राविधिक शिक्षालय २०३७ सालमा स्थापना भएको थियो। टेस्टपास (१० कक्षा) एसएलसीदेखि डिप्लोमा तह सम्मको शैक्षिक कार्यक्रम चलिरहेको छ। शिक्षालय प्रमुख श्रेष्ठले भने, “तीन वर्षमा रु. ९५ हजार ६६० सम्म खर्च हुनेदेखिन्छ। यो कर्णालीका विद्यार्थीका लागि निकै सस्तो शिक्षा हुनेछ।”

डिप्लोमा इन फार्मेसीका लागि ४० वटा कोटा निर्धारण गरिएको छ। जसमध्ये जुम्लाको लागि ४ जना, कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट २/२ जना हुनेछन्। चार जनाले छात्रवृत्तिमा शिक्षा आर्जन गर्न पाउनेछन्।

१४ सिट समानुपातिक ढङ्गबाट भर्ना गरिने छ। यहाँ अध्यययन गरेका ९५ प्रतिशत विद्यार्थी सरकारी जागिरे छन्। केही कसैले आफ्नो पेशा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन्।

डिप्लोमा इन फार्मेसी विषयको पढाई हुने भएकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क गर्न शिक्षालयले आग्रह गरेको छ। प्राविधिक शिक्षालयले टेस्टपास एसएलसीअन्तर्गत कृषि, निर्माण, अनमी र सिएमए तथा डिल्पोमा तहअन्तर्गत ओभरसियर, आईएस्सीएजी र फरेस्ट्री कार्यक्रम सञ्चालनमा छन्।

लाखौँ रकम खर्चेर महङ्गा कलेजमा गएर प्राविधिक विषय अध्ययन गर्नबाट विद्यार्थीलाई राहत मिल्यो, शिक्षालय प्रमुख श्रेष्ठले भने, “यो प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्योग जस्तै बनेको छ। यहाँको जनशक्ति देशभर छरिएर सेवा गरिरहेको छ। यो कर्णालीका लागि सकरात्मक पक्ष हो।”

कर्णाली प्राविधिक शिक्षालय शैक्षिक हब मात्र बनिरहेको छैन । सदरमुकाम खलङ्गा पुग्ने जो सुकैले एक पटक प्राविधिक शिक्षालयको अवलोकन गर्ने गरेका छन्।

यसले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुर्‍याएको छ। कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालन हुन थालेको डिप्लोमा इन फार्मेसीको पठनपाठन निकै अनुशासित र व्यवस्थित बनाउँदै लैजाने कर्णाली प्राविधिक शिक्षालय जुम्लाले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्