एक महिना लामो गुँला पर्व समापन गरिँदै
काठमाडौं। नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रुपमा समापन हुँदैछ।

नेपाल संवत् अनुसार दशौँ महिनालाई गुँला भनिन्छ। यो पर्व चान्द्रमास अनुसार  श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ।

गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्यले जानकारी दिए। यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ।

“यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ”, उनले भने।

पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, काम मिथ्याचार, झुटो कुरा नगर्ने, लागू पदार्थ एवं मद्यपान नगर्ने पर्छन्। पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ।

अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्नेलाई समेत थपेर अष्टशील भनिन्छ। यसमा दुई कुरा थपेपछि दशशील हुन्छ।

आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने । यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिए।

यो महिनामा क्षमता अनुसार भित्री मनदेखि दान दिने गरिन्छ। यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण कमै भक्तजनमात्र पुगेका थिए।

राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने गरिन्छ। वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन्।

यस वर्ष भने कोरोनाका कारण स्वयम्भू जाने भक्तजन कमै थिए।  काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाइएको सुनाउँछन्।

चावहिलमा चन्द्रविनायक घुम्न मन्दिर पुन:निर्माण भइरहेकाले असम्भव भएको भक्तजनको गुनासो छ। झरीले रोग व्याध लगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ।

यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ।
चावहिल क्षेत्रमा घर घरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ।

चावहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भएपनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिएकामा यस वर्ष कोरोनाका कारण सम्भव हुन सकेन।

गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध, बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ। यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ।

ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ। गुरुजुबाट यसको पाठसमेत हुन्छ। यो महायान सम्प्रदायका मानिसको ठूलो ग्रन्थ हो।

भगवान् गौतम बुद्धले भारतको मध्यप्रदेशस्थित गृद्धकुट पर्वतको राजगृहमा गर्नुभएको प्रवचनमा आधारित भएर यो ग्रन्थ तयार पारिएको हो।

बज्रयान सम्प्रदायको ग्रन्थ भने भगवान् गौतम बुद्धले भारतको महाराष्ट्रस्थित गुन्टुर जिल्लाको धान्यकरक पर्वतमा प्रवचन गरेका हुन्। यी दुवै स्थललाई हाल संरक्षित गरिएको छ।

गुँला पर्वको अन्तिम दिन आज विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ। आजदेखि नै नेवार समुदायले इयँला महिना पनि विशेष रुपमा मनाउँछन्।

रासस

प्रतिक्रिया दिनुहोस्