‘वल्के’ पर्वको चहलपहल

काठमाडाैं। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढीमा पनि आजबाटै बढेको पाइएको छ। भाद्र १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ।

जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारका चोकचोक तथा पसलमा स्थानीयको भीडभाड देखिन्छ। विभिन्न थरीका पकवान पकाउनका लागि सामग्री किनमेल गर्न महिलालाई भ्याइनभ्याइ भएको छ।

कोरोना सङक्रमणको जोखिम हुँदाहँदै पनि बजारका किराना तथा तरकारी पसलमा सामाजिक दूरी कायम नगरी सामान किन्ने गा्रहकको पुरानो स्थितिको झै उत्तिकै चाप देखिन्छ।

गाउँघरतिर टोल-टोलमा स्थानीय कुटानी पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन्। घर आँगन सरसफाइ गर्ने, लत्ताकपडा धुनेलगायतका क्रियाकलापमा उनीहरु जुटेको पाइन्छ।

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दुध, दही, मही र पिँडालुको गाभा, दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको धनगढी उपमहानगरपालिका-२ का स्थानीय पुरोहित कृष्णराज जोशीले बताए।

“गाउँ घरतिर जसका घरमा गाई भैंसीको दुध, दही, मही हुँदैन त्यस घरमा दुध, दही, महीलगायत बाड्ने चलन छ।” पुरोहित जोसीले भने, “जसलाई हाम्रो स्थानीय गाउँघरको भाषामा ‘गोरस’ अर्थात ‘सितन’ भनिन्छ।”

विषेशगरी यस पर्वका दिन विवाहित छोरीबेटीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।

चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउँनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । शहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको स्थानीय अगुवाको भनाइ छ।

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहेपनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे त्यति खासै जानकार नभएको स्थानीय अगुवा भक्तराज ओझा बताइछन्।

यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ।

रासस

प्रतिक्रिया दिनुहोस्