सोनाह जातिलाई जीविकोपार्जनमा समस्या

टीकापुर। बर्दियाको गेरुवा गाउँपालिकाका सोनाह जातिलाई जीविकोपार्जनमा समस्या भएको छ। कोरोना भाइरस सङ्क्रमण फैलिएपछि गरिरहेको पेशा गर्न नपाउँदा सोनाह समुदायमा भोकमरी हुने अवस्था आएको उनीहरूको गुनासो छ।

कोरोनाका कारण नदीमा माछा मार्ने, सुन चाल्ने, ज्यालादारी गर्ने काम नपाएपछि दैनिकी कष्टकर भएको सोनाह समुदायका अगुवा घुमलाल सोनाहले बताए।

कैलालीसँग सिमाना जोडिएको बर्दियाको गेरुवा गाउँपालिकामा सोनाह जातिको बसोबास छ। गेरुवाको वडा नम्बर १, २ र ६ का राजीपुर, सर्खोल, खोटेना, कन्यापुर, सैजनामा सोनाह जातीको बस्ती छ। त्यहाँ १०३ घरधूरीमा ४७२ जना सोनाहा बसोबास गर्छन्।

सोनाहा जाति अधिकांशकोे जमिन छैन। धेरै परिवार ऐलानी जग्गामा घर बनाएर बसेका छन्। भएकाको पनि घरवास मात्र छ।

"खेतीपाती गरेर खाउ भने जमिन छैन, अन्य केही पेशा गरौँ लगानी गर्न सकिन्न’’, अगुवा धुमलालले भने, ‘‘नदीमा माछा मार्ने, सुन खोज्ने काम पनि लकडाउनपछि गर्न दिइएको छैन, ज्यालादारी काम पनि पाइदैन, हाम्रो समुदायमा त भोकमरी हुन थाल्यो।’’

सोनाह जातिले कर्णाली नदी किनारमा माछा मार्ने काम गर्थे। उनीहरुका नाउ (डुङ्गा) नदी ढिकमा तानिदिएका छन्।

‘‘हाम्रो पेशा नै यही हो, डुङ्गा ढिकमा तानेपछि हामीले गुजारा के गरेर चलाउने ?’’, उनी भने, ‘‘स्थानीय सरकारले हामीलाई काम दिनुपर्छ।"

कोरोनाका कारण माछा मार्ने, सुन खोज्ने र मजदूरी गर्ने काम प्रभावित हँुदा आफूलाई निकै समस्या भएको गेरुवा २ राजीपुरका कृष्ण सोनाहको पनि गुनासो छ।

‘‘माछा मार्न सुन चाल्न नपाइएपछि बाहिर काम गर्न जान पाइएको छैन’’, कृष्ण भने, ‘‘गाउँपालिकाले एकपटक खाद्यान्न राहत दिएको हो, त्यत्तिले १५ दिन छाक टार्न पुगेन । लकडाउन नभएको भए बाहिरी जिल्ला वा भारत गएर काम गर्न हुन्थ्यो।’’

जीविकोपार्जनका लागि गरी खाने काम नै बन्द भएपछि उनीहरुले समूह र सहकारीबाट ऋण काडेर घर खर्च चलाइरहेका छन्।

‘‘एकातिर काम छैन, अर्कोतिर घर खर्चको लागि ऋण काढ्नु पर्दा अझै समस्या थपिएको छ’’, मनाउ सैजना बस्तीकी सञ्जु सोनाह बताउँछन्, ‘‘ऋणले थिचिने अवस्था आएको छ। अब समूहमा पनि ऋण पाउन मुश्किल भएको छ। खेतीपाती छैन, मजदुरी गर्न पाइएन जसले ऋण बढेको छ।’’

राउटे, राजी, मुसहर सरह नेपाल सरकारले सोनाहलाई पनि सूचीकृत गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिदिएको भए यस्तो आपत परेको समयमा सजिलो हुने उनीहरुको भनाइ थियो।

‘‘हामीलाई सूचीकृत गरी सामाजिक सुरक्षा भत्तामा समेट्नु्पर्छ। लोपोन्मुख आदिवासीको सूचीमा राख्न हामीले सरकारसँग माग गरिरहेका छौँ तर सुनुवाइ भएको छैन’’, सोनाह अगुवा घुमलाल भन्छन्, ‘‘अल्पसङ्ख्यक राउटेलाई सरकारले महत्वका साथ पहिचान दियो। अल्पसङ्ख्यक कुसबढियालगायत समुदाय सूचीकृत भइसके। आफ्नै संस्कार, संस्कृति रहेको सोनाह भने पहिचान विहीन छन्।’’

घुमलाल सोनाहको बर्दिया, कैलाली र कञ्चनपुरमा करिब एक हजार ५०० जनसङ्ख्या रहेको दाबी गर्नुहुन्छ। गेरुवा गाउँपालिकाका अध्यक्ष जम्मानसिंह केसी लकडाउनपछि गाउँपालिकाले एकपटक सोनाहलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको बताए, ‘‘शुरुमा राहत दियौँ, फेरि समस्या भए राहत दिन तयार छौँ’’, अध्यक्ष केसीले भने, ‘‘स्थानीयस्तरमा सोनाह जातिलाई सूचीकृत गरी सङ्घमा पठाएका छौँ, त्यसबाहेक गाउँपालिकाले वडा नं. १ मा २२, २ मा १९ र वडा नं. ६ मा २२ सोनाह परिवारका घर निर्माण गरिदिएका छौँ। अवसर दिँदा प्राथमिकता दिएका छौँ।’’

रासस

प्रतिक्रिया दिनुहोस्