अपाङ्गता भएका महिलालाई घरमै नागरिकता

काठमाडाैं। बर्खामासको समय, झमझम परिरहेको झरी। पहिरोको जोखिम, ठाउँठाउँमा अवरुद्ध बाटो छिचोल्दै पाल्पाको सिमाना नजिक पुग्न निकै कष्टकर र जोखिम छ। कोरोनाको त्रासले मानिस त्रसित छन्। जोखिम मोलेर बाहिर फेर हिँड्नने अवस्था पनि छैन।

कार्यालयमा जाँदा कर्मचारी तर्सिने गर्छन्, कोरोनासँगै बाढी पहिरोका कारण धेरैलाई यात्रा गर्न कठिन छ। यस्तो जोखिमको बाबजुत यहाँका अपाङ्गता भएका महिलाले घरमै नागरिकता पाएका छन्। अर्घाखाँचीका मुख जिल्ला अधिकारी विजयराज पौडेलले गाउँमै पुगेर नागरिकता वितरण गरेका हुन्।

पाणिनी गाउँपालिका-४ पटौटीमा पुगेर दुई जना फरक क्षमता भएकालाई परिचयपत्र प्रदान गरेका हुन्। पटौटीका २७ वर्षीय बालकुमारी रास्कोटी र १९ वर्षीय शिवा घर्तीलाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको प्रजिअ पौडेलले बताए।

सदरमुकाम सन्धिखर्कबाट उक्त स्थानमा जान गाडीमै पनि झण्डै चार घण्टा लाग्दछ। अविरल वर्षाले पहिरो गएर बाटो अवरुद्ध भएपछि कतै गाडी कतै मोटरसाइकल र कतै पैदल यात्रासमेत गरेर प्रजिअ पौडेलले घरमै पुगेर दुई जना अपाङ्गता भएका महिलालाई नागरिकता प्रदान गरेका हुन्।

घरमै परिचयपत्र पाएपछि रास्कोटी र घर्तीसँगै परिवार खुशी भएका छन्। यसरी बिना झन्झट घरमै परिचयपत्र पाउँदा निकै खुशी लागेको उनीहरूले बताए।

यस्तो परिस्थितिमा पनि घरमै आएर नागरिकता दिएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रजिअलाई धन्यवाद दिए। नागरिकता पाउने अन्य सात जनाको घरमै पुगेर अभिभावकको सनाखतसमेत गरिएको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलले पाणिनी गाउँपालिकामा कोरोनाका कारण सर्वसाधारणले खेप्नुपरेको सास्ती, कोरोना जोखिमबाट बच्न उनीहरुले अपनाएको सावधानीबारेमा जानकारी लिए। मास्क नभएका परिवारलाई मास्क वितरण गर्नुका साथै लगाउने तरिकाका बारेमा पनी उनले सिकाए।

सेवाग्राहीमैत्री सेवा र उत्कृष्ट कार्यसम्पादनले यो वर्ष अर्घाखाँची ७७ जिल्लामध्ये अतिउत्कृष्ट (ए प्लस) को सूचीमा परेको छ। गृह मन्त्रालयबाट केही दिनअघि सार्वजनिक भएको मूल्याङ्कनमा देशका तीन वटा जिल्ला अति उत्कृष्टको सूचीमा परेका थिए।

कोरोना महामारी नियन्त्रण, आइसोलेसन कक्षको निर्माण, क्वारेन्टिनको व्यवस्थापनमा जिल्ला प्रशासनले खेलेको भूमिका राम्रो रहेको स्थानीयवासी बताउँछन्।

रासस

प्रतिक्रिया दिनुहोस्