प्रतिस्थापनको पर्खाइमा छन्, मूर्ति
बागलुङ। अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका मूर्ति प्रतिस्थापनको पर्खाइमा छन्। बन्दाबन्दी, वर्षायाम जस्ता कारणले संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको छ।
गलकोट नगरपालिका-५ टेउवामा गत फागुन ५ देखि २१ गतेसम्म चलेको कार्यशालामा १० देशका १५ कलाकारले मूर्ति कुँदेका थिए। कार्यशाला सकिनासाथ कोरोनाको त्रास एकाएक बढ्यो।
मूर्ति प्रतिस्थापनका लागि संरचना बनाउन थालिएको भए पनि दक्ष कामदार र प्राविधिकको अभावले काम रोकिएको उनको भनाइ छ। “कोरोनाको त्रास बढेपछि कामदार पाइनै छाडे, सम्पदा निर्माणमा अनुभव भएका इञ्जिनीयर हामीसँग भएनन्”, अध्यक्ष रानाले भने।
देशविदेशका मूर्तिकारद्वारा सिर्जित अमूल्य कलाकृतिको व्यवस्थापनमा देखिएको जटिलताले चिन्तित तुल्याएको उनले उल्लेख गरे। उचित संरक्षण र रेखदेख नपुग्दा मूर्ति टुटफुट हुने, सौन्दर्य गुम्ने खतरा छ।
विस्तारै स्थिति सामान्य हुँदै गएको र वर्षायाम पनि सकिन लागेकाले अब कामले गति लिने जनाइएको छ। विस्तृत परियोजना प्रतिवेदनमार्फत कार्यशालास्थललाई खुला मूर्तिकला सङ्ग्रहालयका रुपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य छ।
अध्यक्ष रानाले सम्बन्धित ठाउँमा मूर्तिको प्रतिस्थापन, प्रवेशद्वार र टिकटकक्ष निर्माणको काम छिट्टै अघि बढाइने बताए। बगैँचा, विश्रामस्थल आन्तरिक साजसज्जालगायतका काम गर्न बाँकी छ।
प्रतिष्ठानद्वारा आयोजित कार्यशालामा नेपालबाट मूर्तिकार प्रविण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका थिए।
यस्तै जापानका जुनीचिरो सगीमोतो, चीनका ल्यू याङ्ग, इटालीका बेतीनो फ्रान्सेनी, फ्रान्सका जिवियर गोञ्जालेज, ताइवानका लिन लि जेन, क्यानाडीकी जुली ग्लास्पी, भारतका टुटु पटनायक, इजरायलकी तान्या प्रिमेन्जर, ब्राजिलका जर्ज लुइज सोडर र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को सहभागी थिए।
मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका छन्। अन्तरराष्ट्रियस्तरमा आवेदन माग गर्दा छनोटमा परेका मूर्तिकारले मात्र उक्त कार्यशालामा भाग लिएका थिए।
कार्यशालाका संयोजक एवं मूर्तिकार ओम खत्रीले खुला मूर्तिकला सङ्ग्रहालयसहित ललितकलाको अनुसन्धान केन्द्र बनाउने योजना रहेको सुनाए। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वप्राज्ञसमेत रहेका मूर्तिकार खत्रीकै सोच र परिकल्पनामा आव ०७३/०७४ देखि कार्यशालाको तयारी अघि बढेको थियो।
उनका अनुसार कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ। अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले मूर्तिकलाको अन्तरराष्ट्रिय संस्था (आईएसएसए) ले सदस्यतासमेत दिएको छ।
प्रतिष्ठानका अनुसार खुला मूर्तिकला सङ्ग्रहालयका लागि थुप्रै पूर्वाधार निर्माणको काम गर्न बाँकी छ। त्यसका लागि झण्डै रु १२ करोड खर्च लाग्ने अनुमान छ। चालू आवमा सङ्घ सरकारबाट रु १० लाख र गलकोट नगरपालिकाबाट रु तीन लाख बजेट छुट्टिएको छ।
यसअघि कार्यशाला सञ्चालनका लागि सङ्घ सरकारबाट रु ५० लाख, गण्डकी प्रदेश सरकारबाट रु ७० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले पाँच लाख रूपैयाँ सहयोग गरेका थिए।
व्यक्तिगतरुपमा समेत लाखौँ रुपैयाँ सहयोग जुटेको थियो। कार्याशालास्थलका लागि स्थानीयवासीले झण्डै ३० लाख मूल्यको २५ रोपनी जग्गा नि:शुल्क दिएका थिए। कार्यशाला सम्पन्न गर्ने बेलासम्म रु दुई करोड ३० लाखभन्दा बढी खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ।
सहयोगको प्रतिबद्धता गरेका कैयौँ व्यक्तिबाट रकम आउन बाँकी रहेको अध्यक्ष रानाले बताए। यस्तै रु १० हजार तिरेर प्रतिष्ठानको सदस्य बन्न तयार भएका झण्डै ७०० जनामध्येबाट अधिकांशको पैसा आउन बाँकी छ।
“बोलेको लाखौँ रुपैयाँ उठ्न बाँकी छ, त्यो रकम उपलब्ध गराउन आह्वान गर्दैछौँ, सरकारी निकायलगायत अन्य क्षेत्रबाट सहयोग जुटाएर सङ्ग्रहालयको काम अघि बढाउँछौँ”, अध्यक्ष रानाले भने।
रासस
प्रतिक्रिया दिनुहोस्