गोंगबु हत्या प्रकरणः एक महिला पक्राउ, चितवनबाट काठमाडौं ल्याइँदै

काठमाडौं। गो‌ंगबु हत्या प्रकरणमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

चितवनको माडीबाट कल्पना शाही नाम गरेकी महिलालाई पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ।

चितवन प्रहरीको सहयोगमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको महाशाखा प्रवक्ता ईश्वर कार्कीले जानकारी दिए।

मृतकको टेलिफोनमा भएको कुराकानी आधारमा ती महिलासँग कुराकानी गरेको देखिएको भन्दै सोधपुछका लागि काठमाडौं ल्याउन लागिएको प्रवक्ता कार्कीले बताए।

गोंगबुको गणेश मन्दिरदेखि भित्र पर्ने नवज्योति मार्गमा हिजो बिहान कृष्णबहादुर बोहराको शव फेला परेको थियो। टाउको र खुट्टा जेब्राको झोलामा र शरीर सुट्केसमा भएको अवस्थामा फेला परेका बोहराको आज मात्र पहिचान खुलेको थियो।

मृतक र ती महिला गोंगबुस्थित एउटै फल्याटमा बस्दै आएका थिए। काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले घटनाबारे प्रहरीका विभिन्न निकाय मिलेर अनुसन्धान भइरहेको बताए।

हत्या के कति कारणले गरिएको भन्नेबारे अझै खुल्न नसकेको भन्दै एसएसपी ज्ञवालीले भने, “यो घटनालाई सुरक्षा निकायले निकै महत्त्व दिएर अनुसन्धान गरिरहेको छ। केही दिनमै घटनाको सत्यतथ्य पत्ता लाग्नेछ।”

प्रतिक्रिया दिनुहोस्