नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीम

काठमाडाैं। नेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ। प्रविधिमा दक्ष बनाउने उद्देश्यसहित विद्यालयले शिक्षकलाई प्रविधि तालीम प्रदान गरेको हो।

सरकारले उक्त विद्यालयलाई २४ थान कम्प्युटर, चार थान सिसिटिभी क्यामरा, इन्भर्टर, प्रोजेक्टरलगायतका सामग्री सहयोग गरेको थियो। सोही सामग्रीको प्रयोग गरेर शिक्षक शिक्षिकालाई तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए।

दश दिनसम्म सञ्चालन हुने तालीममा माइक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाइन्ट, इमेल इन्टरनेट तथा मोबाइल एप सम्बन्धमा सहजीकरण प्रदान गरिने विद्यालयका कम्प्युटर शिक्षक दीपक पन्तले बताए। नमूना विद्यालयका रुपमा छनोट भएको विद्यालयले रु एक करोड ८७ लाख ६० हजार बजेट प्राप्त गरेको छ।

सोही रकमबाट योजनाका आधारमा गुरुयोजनासहित थप कार्य सञ्चालन गरी आधुनिक शिक्षा प्रदान गर्न आठ कोठे भवन निर्माण गरिएको र खेलकुद सञ्चालनका लागि दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको विद्यालयका शिक्षक वीरेन्द्र काफ्लेले जानकारी दिए।

तालीममा व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले हरेक शिक्षक अब प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए। नगरक्षेत्रभित्रका विद्यालयको प्रविधिमा खर्च गर्न सकिने गरी नगरसभाले रु ३५ लाख बजेट विनियोजन गरेको रेग्मीले जानकारी दिए।

विद्यालयका अभिभावक शिक्षक सङ्घ अध्यक्ष सिर्जना तिवारीले आधुनिक शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर वृद्धिमा विद्यालय सदैव प्रतिबद्ध रहेको बताइन्।

मास्क प्रयोग नगर्नेलाई कारवाहीसँगै सचेतना

कोभिड-१९ को जोखिम कायमै रहेको बेला मास्क प्रयोग नगरी हिँडडुल गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना दिन थालेको छ। कोभिड-१९ का सङ्क्रमित दिनप्रतिदिन बढिरहेको अवस्थामा घरबाहिर हिँड्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिए पनि अटेरी गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना प्रदान गर्न थालेको हो।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहुँले पहिलो चरणमा मास्क प्रयोग गर्न सचेतना जगाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा नि:शुल्क मास्क वितरणको कार्यक्रम गर्‍यो तर त्यति गर्दा पनि मास्क लगाउन अटेरी गर्नेलाई कारवाही गर्न शुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

प्रनाउ तिमिल्सिनाका अनुसार बुधबारदेखि शुरु भएको कारवाही अभियानका क्रममा दश दिनमा ७२१ जनालाई रु १०० का दरले जरिवाना गराइएको छ।

“पहिलो चरणमा सचेतना जगाउँँदा पनि अटेरी गर्नेलाई कारवाही थालेका छौँ”, उनले भने, “कारवाहीमा परेकालाई कोभिड-१९ का बारेमा थप सचेत गराइएको छ।” साउन २१ गते ५०, साउन २२ गते ५० र शुक्रबार २२१ जनालाई कारवाही गरेको प्रहरीले जनाएको छ।

घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।

रासस

प्रतिक्रिया दिनुहोस्