पाउँदी मोटरेबल पुल सम्पन्न

काठमाडाैं। लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने पाउँदी मोटरेबल पुल निर्माण भएको छ। जिल्लाको सुन्दरबजार नगरपालिका-६ र तनहुँको भानु नगरपालिका-११ मानेचौका जोड्ने मोटरेबल पुलको निर्माण भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ।

कार्यालयका अनुसार सपना निर्माण सेवा कम्पनीले १८६ दशमलव आठ सेन्टिमिटर लम्बाइ र ११ मिटर चौडाइ लामो उक्त पुलको निर्माण गरेको हो। सो कम्पनीले करिब तीन वर्षभित्रै निर्माण सक्ने गरी उक्त कार्यालयसँग विसं २०७४ असार १८ गते सम्झौता गरेको थियो।

सम्झौताअनुसार गत पुस मसान्तभित्र पुलको निर्माण गरिसक्नुपर्ने थियो। निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुन: म्यान थप गर्दै यही साउन मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। रु २० करोड ९७ लाखको लागतमा निर्माण भएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर नारायण पौडेलले बताए।

कम्पनीले निर्माण जिम्मा लिएर फम बिछ्याउने, पुलको जग हाल्ने, दुवैतर्फमा एक/एक पिलर, बीचमा चार पिलर, स्टिक्चर, वर्डर, ग्याबिन जालीलगायत काम लकडाउन अघि सम्पन्न गरे पनि पुलमाथि ढलान गर्ने कार्य केही दिन अघि मात्र सम्पन्न गरेको हो।

नाउँदी र पाउँदी खोला मिसिएको उक्त स्थानमा मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन आवतजावत रोकिँदै आएको थियो। पुल सम्पन्न भएपछि यतिबेला दुई जिल्लाबीच सहज आवतजावत हुन थालेको छ।

यसअघि सो स्थान नजिकै रहेको झोलुङ्गे पुलबाट मान्छे र मोटरसाइकल आवतजावत गर्ने गरेका थिए। अन्य सवारी साधन भने हिउँदको बेलामा खोलाबाटै गुड्दै आएका थिए।

रासस

प्रतिक्रिया दिनुहोस्