कोरोना संक्रमित प्रहरीको सङ्ख्या दुई सय पुग्यो
काठमाडौं। देशभर हालसम्म दुई सय जना नेपाल प्रहरीमा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा सर्वाधिक ८५ जना प्रहरीमा संक्रमण देखिएको छ।

त्यस्तै, गण्डकी प्रदेशमा ४०, प्रदेश नम्बर-२ मा २९, प्रदेश नम्बर-१ मा २७, काठमाडौं उपत्यकामा नौ, प्रदेश नम्बर-५ मा सात, बागमती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक जना प्रहरीमा संक्रमण देखिएको छ।

संक्रमितमध्ये ११९ जना निको भएका छन् भने बाँकी ८१ जनाको उपचार भइरहेको छ। प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु र कोभिड-१९ अस्पतालको रूपमा विकास गरिएको भक्तपुर अस्पतालमा संक्रमित प्रहरीहरूको उपचार भइरहेको बताए।

कोरोना महामारीविरुद्धको लडाइँको अग्रमोर्चामा नेपाल प्रहरी खटिएको छ। प्रहरीमा यसरी संक्रमण बढ्दै जाँदा शान्ति सुरक्षामा गम्भीर असर पर्ने सुरक्षा मामिलाका जानकारहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

नेपाल प्रहरीका एक पूर्वडीआइजी हेमन्त मल्ल ठकुरीले संक्रमण फैलिइरहे प्रहरीको ब्यारेक नै बन्दाबन्दी गर्नुपर्ने अवस्था आउन सक्ने बताए। बन्दाबन्दी गर्नु परेको अवस्थामा दैनिक ‘पुलिसिङ’ मा समस्या हुने उनको भनाई छ।

“पुलिसको काम नै दैनिक ‘पुलिसिङ’ गर्ने हो र बन्दबन्दी गर्नु परे के होला हालत?”, उनले देखापढीसँग भने, “त्यस्तो अवस्थामा शान्ति सुरक्षामा गम्भीर असर पर्छ र अपराध अनुसन्धान पनि प्रभावित हुन सक्छ।”

तर, कुनै युनिटमा संक्रमण देखिए तत्काल नजिकको युनिटबाट प्रहरी जनशक्ति थप्ने गरिएको प्रहरी प्रवक्ता कडायतले बताउँछन्। उनका अनुसार प्रहरीसँग ‘रिजर्भ’ जनशक्ति पनि छ।

आवश्यकता अनुसार रिजर्भमा रहेका प्रहरीलाई कोरोना संक्रमित प्रहरीको उपचार गर्नु परेको अवस्थामा वा प्रहरी युनिटमा बन्दाबन्दी गर्नु पर्दा त्यस क्षेत्रमा खटाइने गरिएको बताए।

“संक्रमित प्रहरीलाई उपचारमा पठाउँदा सम्बन्धित प्रहरी युनिटलाई ठूलै असर परिहाल्ने अवस्था तत्काल छैन, हामीसँग रिजर्भ म्यानपावर हुन्छ र जहाँ चाहिन्छ, त्यहाँ पठाउने गरेका छौं,” प्रहरी प्रवक्ता कडायतले भने।

संक्रमितमध्ये ब्यारेकमा रहेका बढी छन्। त्यसपछि ‘फिल्ड’ मा खटिने छन्। घरदेखि आएका केही प्रहरीमा पनि संक्रमण देखिएको प्रवक्ता कडायतले बताए।

हालसम्म देशभर २१ हजार ३९० जना संक्रमित भएका छन्। त्यसमध्ये १५ हजार १५६ निको हुँदा ६६ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्