एक हजार ११५ नेपाली स्वदेश फर्किए

काठमाडाैं। विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन्।

कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एअरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत् स्वदेश फर्काएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्।

नेपाल एअरलाइन्सले जापानको नारिताबाट २६४ यात्रु र तीन बच्चा काठमाडौं ल्याएको छ।

त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ।

सोही एअरलाइन्स थप नेपालीको उद्धारका लागि दोहा र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १५३ यात्रु र दोहाबाट १५२ यात्रु काठमाडौं ल्याएको छ। थप नेपाली ल्याउन हिमालयको जहाज दोहा र अबुधाबी उडेको छ।

त्यस्तै एअर अरेबियाले सारजाहाबाट १६५ नेपाली काठमाडौं ल्याएको छ। फलाई दुबईले दुबईबाट १५४ र मालिन्दो एअरले क्वालालम्पुरबाट १७६ नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बुधबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १५ वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ। आज आन्तरिकतर्फ पनि ९ वटा एअरलाइन्सले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्